
काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच अंक तालिकाको शीर्षस्थानमा पेचिलो प्रतिस्पर्धा छ ।
घरेलु र विदेशी खेलाडीको सन्तुलन मिलेको विराटनगरलाई प्रशिक्षक पुबुदु दाशानाइकेको सल्लाहमा धम्मिका प्रसादले लगातार जिततर्फ डोर्याएका छन् । २२० रनको ठूलो स्कोर निकाल्नदेखि ब्याटिङमा संघर्ष गर्दा धारिलो बलिङबाटसमेत जित हात पारेपछि विराटनगर आत्मविश्वासले भरिएको छ । त्रिविको निकै गाह्रो पिचमा जनकपुरविरूद्धको नेल बिटिङ फिनिसले एनपीएलमा विराटनगर उत्कृष्ट लयमा देखिएको छ ।
सिजनको पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएपछि जनकपुरका कप्तान अनिल शाहले भनेको कुरा हो यो । उनी मात्रै होइन जनकपुरका सबै खेलाडी र समर्थकलाई विश्वास थियो कि आफ्नो टिमले पुनरागमन गर्नेछ । र, आज जसरी जनकपुरले टस जितेर पहिलो इनिङ्समा बलियो विराटनगरको ब्याटिङलाई रोकेको छ । यसबीचको एक हप्तामा उसले बलिङ र फिल्डिङमा धेरै काम गरेको भन्ने प्रष्ट देखाएको छ ।
बलिङ र फिल्डिङमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपलको चोइज र रणनीति प्रष्ट खेलमा देखियो । उनले खेलमा स्थान दिएका संगीथ कोरे र आदित्य महताले विराटनगरको शीर्ष क्रमलाई एक्सपोज गरिदिए । विराटनगरको शीर्ष क्रमले ब्याटिङमा दबाब खप्न सकेन भने उसको ब्याटिङ कस्तो हुनेछ भन्ने यी खेलाडीले स्पष्ट पारिदिएका छन् ।
मध्यक्रममा रूपेश सिंह खेलको केन्द्रमा रहे । रूपेशले दुई रनआउट गरे भने बसिर अहमदलाई क्याचआउट गराएका थिए । अन्तिम ओभरमा मर्चेन्ट डि ल्याङ्गेलाई आउट गर्नु भनेको केही बाउन्ड्री जोगाउन पनि ठहथ्र्यो, जसमा उनी सफल भए । पहिलो इनिङभरी नै जनकपुरले आफ्नो उत्कृष्ट क्षमताको नमूना प्रस्तुत गरेको देखियो । यसैकारण विराटनगर ठूलो स्कोरमा पुग्न सकेन् ।
दोस्रो इनिङको अन्तिम ३ ओभर बाँकी रहँदा पाँच विकेट हातमा हुँदा जनकपुरलाई २५ रन आवश्यक थियो । तर उसले त्यो पुरा गर्न सकेन । बरू लगातार विकेट गुमाएर हातमा आइपुग्नै लागेको जित पनि विराटनगरको पक्षमा पुगेको छ । त्यसैले आजको खेल रोमाञ्चकता र अविश्वसनीय बलिङ भेरिएसनले भरिएको थियो ।
पछिल्लो खेलमा ५४ रन बनाएका आशिफलाई सूर्यले आउट गराउँदै विराटनगरलाई राम्रो सुरूआत दिलाउन सहयोग गरेका थिए । सातौं र नवौं ओभरमा सन्दीप लामिछानेले लाहिरु मिलान्था र अनिल शाहलाई आउट गराएर जनपुरको सम्भावित लामो साझेदारी बन्न सक्ने जोडीलाई आउट गराए । सन्दीपले ४ ओभरमा ११ मात्रै खर्च गरेर चार विकेट लिएका छन् । जारी एनपीएलमा सबैभन्दा उत्कृष्ट बलिङ हो । उनले १८ औं ओभरमा लगातार दुई बिकेट लिनु खेलकै टर्निङ पोइन्ट जस्तै बन्यो ।
आजको खेलमा दुवै टिमले ब्याटिङमा संघर्ष गरेका छन् । ठूलो स्कोर नबन्नुमा पिचको फ्याक्टर प्रमुख रह्याे । टियूको मैदान बलरको लागि फेबरेबल र ब्याटिङका लागि निकै गाह्रो भएको खेलाडीले बताएका छन् । आजको जितले विराटनगर किंग्सका समर्थकलाई उत्साही बनाएको छ । आफ्नो टिमले उपाधि जित्नेमा विराटनगरका समर्थक आशावादी बनेका छन् भने दुई हारका बाबजुद पनि आफ्नो टिमले कमब्याक गर्नेमा जनकपुरका समर्थकले विश्वास गरेका छन् ।
विराटनगरले लगातार तेस्रो जितपछि ६ अंक बनाएको छ भने उसको नेट रन रेट पनि २ भन्दा धेरै छ । उपाधि र लगातार जितको भोकले विराटनगरलाई जारी प्रतियोगिताकै बलियो टोली बनाएको छ । विराटनगरको तीन खेल मात्रै सकिएको छ, यस्तोमा एउटा प्रश्न भने उब्जिएको छ, अब विराटनगरलाई कसले रोक्न सक्ला ?