कमलादीमा स्काइवक् सञ्चालन गर्दै आएको वन्डर्स नेपालले सर्वसाधारणलाई शेयर बिक्री गर्ने

पुस २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कमलादीमा स्काइवक् सञ्चालन गर्दै आएको वन्डर्स नेपालले सर्वसाधारणलाई शेयर बिक्री गर्ने

काठमाडौं । कमलादीमा स्काइवक् टावर सञ्चालन गर्दै आएको वन्डर्स नेपाल प्रालिले सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई शेयर बेच्न कम्पनीको प्रालि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।

शुक्रबार सम्पन्न सातौं वार्षिक साधारण सभामा नवनिर्वाचित प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने बताउनुभएको थियो । शुक्रबारै साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पनि पुनर्गठन गरिएको थियो । कम्पनीको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे निर्वाचित हुनुभएको थियो ।

पाण्डेले स्काइवक् टावरमा ३६० डिग्री दृश्य देखिने गरी रेस्टुराँ र क्लब निर्माण भइसकेकाले त्यसलाई शीघ्र सञ्चालनमा ल्याउने, सोही क्षेत्रमा सिटी बन्जी जम्प, डोम प्रोजेक्ट जस्ता लगायत थप साहसिक गतिविधि विस्तार गर्दै लैजाने योजना पनि सार्वजनिक गर्नुभएको थियो ।

वन्डर्स नेपालले कमलादीमा स्काइवक् टावर सञ्चालनमा ल्याएको एक वर्ष बढी समय भइसकेको छ । अग्लो ठाउँबाट काठमाडौं उपत्यकाको दृश्य नियाल्न मिल्नुका साथै सिसामा हिँड्दा ७८ मिटर तलको बगैंचा, पार्किङ, बजार क्षेत्र देखिन्छ । कम्पनीले धरानको भेडेटार र इलामको कन्याममा पनि टावर निर्माण गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement