
सिन्धुपाल्चोक । चीनसँगको उत्तरी तातोपानी नाका अझै पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा नेपाली व्यवसायीले किनेका अर्बौं मूल्यका मालवस्तु करिब डेढ महिनादेखि बाटैमा थुनिएका छन् ।
बाढीको चपेटामा परेर रसुवागढी नाका पनि पूर्णरूपमा बन्द भएको छ । असार ३१ गतेदेखि डाक्लाङ, इको र लिपिङ क्षेत्रमा अवरुद्ध सडक अस्थायीरूपमा सञ्चालनमा आए पनि दशैंतिहारलाई लक्षित गरी आयात गरिएका व्यवसायीका सामान अझै भित्रिन सकेको छैन ।
लामो समयसम्म सामान भित्रिन नसक्दा आयातकर्ता मर्कामा परेका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा आयातनिर्यात प्रभावित बनेको तातोपानी नाका ४० दिनपछि अस्थायीरूपमा सञ्चालनमा आएको छ । सडक अस्थायीरूपमा सञ्चालनमा आएपछि लिपिङ क्षेत्रबाट २७ कन्टेनर र तीन दिनअघि चीनतर्फबाट थप ८ कन्टेनर मात्र सामान नेपाल भित्रिएका छन् । तर, ठूलो परिमाणमा सामान अझै चिनियाँ क्षेत्रमा रोकिएर रहेकाले नेपाली व्यवसायीको व्यापार व्यवसाय प्रभावित भएको छ ।
चाडपर्व नजिकिँदै गर्दासमेत सामान आयात सहज हुन नसकेपछि व्यवसायीहरू थप चिन्तित बनेका छन् । उता रसुवामा आएको बाढीका कारण चालक, सहचालक, व्यापारी र भन्सार एजेन्टसहित करिब ५५० जना बाढीमा परेर बेपत्ता हुँदा व्यवसायीलाई अर्को पीडा छ ।
तातोपानी र रसुवा नाका अनिश्चित बनेपछि व्यवसायीहरूलाई चीनले अहिले मुस्ताङको कोराला नाकाबाट सामान आयात गर्न भनेको छ । चाडपर्व लक्षित व्यवसायीको सामान चाडो आयात गर्नका लागि भन्सार विभाग, परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण भइरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले तातोपानी नाकाबाट २५ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा हालसम्म लक्ष्यको करिब २ प्रतिशत मात्रै सङ्कलन भएको छ।
नाका सञ्चालनमा देखिएको सडक अवरोध तत्काल हटाउन तथा आयात निर्यातलाई नियमित बनाउन सरकारले चीनसँग प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन् ।