
काठमाडौं । रसुवा बाढीमा परेकाहरुको खोजी तीव्र हुँदै जाँदा शव भेटिने क्रम पनि बढ्दै गएको छ ।
यो सामग्री तयार पार्दासम्म विभिन्न ८ जिल्लाबाट ७ सय ५२ शव भेटिएका छन् । सबैभन्दा बढी चितवन, नवलपरासीपूर्व तथा नवलपरासी पश्चिममा फेला परेका छन् । तर, शव पहिचानमा समस्या हुँदा व्यवस्थापन चुनौतीपूर्ण देखिएपछि चितवन प्रशासनले शवलाई जमिनमुनि व्यवस्थापन गर्न थालेको छ ।
शव गाड्नुपर्ने अवस्था किन आयो ? शव गाडिएपछि सनाखत भयो भने आफन्तले कसरी पाउँछन् ? प्रक्रिया के हुन्छ ? र, शव सुरक्षित राखिएको छ भन्ने कसरी सुनिश्चित हुन्छ ?
शव र चिस्यान केन्द्रको अवस्था
भोटेकोशी बाढीमा परेकाहरुको शव भेटिने क्रम बढ्दै जाँदा व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका सरकारी अस्पतालमा ६ सय शवमात्र राख्न सक्ने क्षमता छ । १ सय ५० शव अट्ने त्रिवि शिक्षण अस्पतालमा मात्रै सयवटा शव ल्याइसकिएको छ।
निजी अस्पतालहरुसँग झन् शव राख्ने संरचना निकै सीमित छन् । यसको अर्थ हो हाम्रा अस्पतालहरुसँग शव राख्ने संरचना पर्याप्त छैनन् ।
किन गाड्नुपर्ने अवस्था आयो ?
नेपाल प्रहरीले शव पहिचानका लागि पोर्टल नै बनाएर तस्बिरहरु सार्वजनिक गरिरहेको छ। तर, पनि आफन्तलाई समेत शव पहिचानमा समस्या भइरहेको छ । बाढीमा बगेर भेटिएका शव अत्यधिक गर्मीका कारण सड्न थालेका छन् । पानीमा भिजेका यस्ता शव अन्य शवको तुलनामा छिट्टै बिग्रने फरेन्सिक विशेषज्ञ बताउँछन् ।
त्यसमाथि बाढीका कारण सडक तथा बाटोसमेत क्षतिग्रस्त भएकाले मृतकका आफन्त शव खोज्न घटनास्थल तथा अस्पतालसम्म पुग्नसमेत सकिरहेका छैनन् । शवका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै सरकारले पहिचान हुन नसकेका शव सुरक्षित रूपमा व्यवस्थापन गर्न थालेको छ ।
शव गाड्ने प्रक्रिया के हुन्छ, कानुनी प्रक्रिया के हो ?
शव व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ लाई संशोधन गरेको छ । निर्देशिकामा शव व्यवस्थापन भन्नाले शवलाई पूर्णरूपले अन्त्य नगरी अस्थायी रूपमा गरिने व्यवस्थापन सम्झनुपर्ने उल्लेख छ।
निर्देशिकाबमोजिम शनिबारदेखि शव व्यवस्थापन अर्थात् गाड्न सुरु गरिएको हो । यसअनुसार प्रत्येक शवको छुट्टाछुट्टै विवरण सुरक्षित गरिन्छ र अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिएको हुन्छ । प्रत्येक शवको फोटो खिचि, शवको अनुहार, हातमा रहेका ट्याटु, चोटपटक तथा अन्य विशेष चिन्हको अभिलेख राखिन्छ ।
शवसँगै भेटिएका कपडा तथा अन्य सामानको विवरण संकलन गरिनुका साथै कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार गरिन्छ र प्रत्येकलाई छुट्टै ‘युनिक पहिचान नम्बर’ दिनुपर्ने व्यवस्था छ । कुन शव कहाँ गाडिएको हो भन्ने पत्ता लगाउन प्रत्येक शवको पहिचान नम्बर नबिग्रने गरी धातुको प्लेटमा लेखेर सँगै राखिन्छ ।
यसरी पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरुप १२ वर्षसम्म सुरक्षित रहने गरी गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
शव गाडिएपछि सनाखत भयो भने आफन्तले कसरी पाउँछन् ?
शव गाडेपछि पहिचानको बाटो समाप्त हुँदैन । भविष्यमा कसैको डीएनए परीक्षण वा अन्य प्रमाणका आधारमा पहिचान खुलेमा शव गाडिएको स्थान पहिचान गरेर उत्खनन् गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ । त्यसको अर्थ डीएनए म्याच भएर पहिचान भयो र परिवारले आफ्नो धर्म–संस्कृतिअनुसार सद्गत गर्न चाहेमा उत्खनन गरेर लैजान मिल्ने गरी व्यवस्था गरिएको छ ।
शवलाई युनिक पहिचान नम्बरका आधारमा ट्र्याक गर्न सकिने गरी गाडिएको हुन्छ । आफन्त आएर दाबी गरेमा अभिलेख, अन्य प्रमाण र डीएनए परीक्षणबाट पहिचान पुष्टि गरेर पुनः उत्खनन् गरी परिवारलाई बुझाउन सकिन्छ । निर्देशिकाले भनेको छ, 'यसरी राखिएको शव वा शरीरको अङ्ग वा भागको पहिचान भई त्यस्तो हकवालालाले लिन चाहेमा त्यस्तो शव वा शरीरको अङ्ग वा भाग हस्तान्तरण गर्नुपर्ने छ ।
यसरी व्यवस्थापन गर्दा कुहिन भने रोकिँदैन, दुर्गन्धित हुनबाट जोगिन्छ तसर्थ शव जस्ताको त्यस्तै पाइँदैन ।
अन्तिम विकल्प यही हो त ?
शव व्यवस्थापनको एउटा विकल्प रेफ्रिजेरेटेड अर्थात् चिस्यानयुक्त शव भण्डारण हो । अन्तर्राष्ट्रिय रेडक्रसको आईसीआरसी मापदण्डअनुसार सम्भव भएसम्म शवलाई करिब २ देखि ४ डिग्री सेल्सियस तापक्रममा रेफ्रिजेरेटेड कन्टेनर वा अन्य चिसो भण्डारणमा राख्नु उत्तम विकल्प हो । तर, यस्तो सुविधा पर्याप्त नभए सुरक्षित स्थानमा अस्थायी रूपमा गाडेर राख्न सकिन्छ ।
आईसीआरसीका अनुसार विपद्का कारण शव राख्ने सामान्य क्षमताभन्दा धेरै शव संकलन भएमा तिनलाई अस्थायी रूपमा सुरक्षित राख्नुपर्ने हुन सक्छ । अहिले सरकारसँग कोल्ड स्टोरेज वा रेफ्रिजेरेटेड कन्टेनर पर्याप्त छैनन् । यो अवस्थामा शवलाई अस्थायी रूपमा सुरक्षित स्थानमा गाडेर राख्ने विकल्प पनि प्रयोग गर्न सकिन्छ । त्यही गरिएको सरकारको भनाइ छ ।