एउटै शवमा दुई परिवारको दाबी : अब डीएनए परीक्षणको भर

भाद्र १४, २०८३ |भुपाल गुरुङ
एउटै शवमा दुई परिवारको दाबी : अब डीएनए परीक्षणको भर

पाेखरा । रसुवा बाढीमा बेपत्ताका परिवार र आफन्त अहिले आफ्ना मान्छे खोज्दै ठाउँठाउँ भौतारिइरहेका छन् । 

उनीहरु कहिले उद्धार गरी ल्याइएका घाइतेहरू खोज्दै अस्पताल अस्पताल पुग्छन् त कहिले शव संकलन गरी राखिएका विभिन्न जिल्लामा । स्थिति यतिसम्म बिडम्बनापूर्ण भएको छ कि दुई व्यक्तिका परिवार अहिले एउटै शव पहिचानका लागि पर्खिइरहेका छन् । 

बर्दियाका गोपाल दहित र रूपन्देहीका दामोदर बस्यालका परिवारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको एउटै शवलाई आफ्नो दाबी गरेका हुन् ।

रसुवाको मैलुङ हाइड्रोपावरमा कार्यरत ४० वर्षीय भाइ गोपाल दहित भदौ १० गतेको बाढीमा बेपत्ता भएपछि कृष्णबहादुर थारु खोजीमा निस्किनुभयो । बारबर्दिया नगरपालिका २, का कृष्णबहादुरले भाइ बेपत्ता भएदेखि रसुवा हुँदै मकवानपुर, काठमाडौं, धादिङ र चितवनसम्म नदी किनार र अस्पताल चहार्नुभयो । तर, चार दिनसम्म खोज्दा पनि उहाँका भाइको अवस्था पत्ता लागेन । 

पोखरामा आएका दिदीबहिनीले भाइको शव भेटिएको खबर दिएपछि कृष्णबहादुर शनिबार मध्यरातमा पोखरा आइपुग्नुभयो । आइतबा बिहानै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा पुग्नुभयो । एक हजार ३ नम्बरको शवको नाक, ओठ र अनुहार हेरेपछि उहाँले आफ्नै भाइ गोपाल भएको दाबी गर्नुभयो । तर, यही शवमाथि रुपन्देहीको अर्को परिवारले पनि दाबी गरेपछि शनाखतमा समस्या भएको छ । 

तिलोत्तमा नगरपालिका ९, रुपन्देहीका राधेश्याम शर्मा बस्यालले पनि यही शव आफ्ना भाइ ५८ वर्षीय दामोदर बस्यालको भएको दाबी गर्नुभएको छ । दामोदर कैलाश मानसरोवरबाट पर्यटक लिएर फर्किने क्रममा केरुङ नाका आइपुग्दा बाढीमा बेपत्ता हुनुभएको थियो । 

भाइको खोजीमा भौतारिइरहनुभएका राधेश्यामले शवको कोठी र दाँतका आधारमा आफ्ना भाइ भएको दाबी गर्नुभएको हो । एउटै शवमा दुई परिवारको दाबी परेपछि अब पहिचानका लागि वैज्ञानिक परीक्षणको प्रक्रिया जाने निर्णय भएको । 

दुवै परिवारले डीएनए परीक्षणका लागि निवेदन दिने भएका छन् । शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । प्रहरीले पनि दुवै पक्षले गरेको दाबी र उपलब्ध प्रमाणलाई विभिन्न कोणबाट विश्लेषण गरिरहेको जनाएको छ । शवमाथिको दाबी अन्य प्रमाणबाट पुष्टि हुन नसके डीएनए परीक्षणमार्फत वास्तविक पहिचान गरिने छ । 

अहिले पोखरा ल्याइएका एक सय दुईमध्ये ५७ वटा शवको मात्रै पोष्टमार्टम सकिएको छ भने बाँकीको सोमबार सम्ममा सक्ने तयारी छ । १२ वटा शव पहिचान गरी परिवारको जिम्मा लगाइएको छ ।

अब यो शव कसको हो भन्ने प्रश्नको जवाफ वैज्ञानिक परीक्षणबाट मात्रै आउनेछ तर यसमा समय लाग्ने छ । डीएनए परीक्षणको नतिजाले दुई परिवारमध्ये एकको आशा पूरा गर्नेछ भने अर्को परिवारलाई थप पीडा दिनेछ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।