
काठमाडौं । भोटेकोशी विपत्तिको दसाैं दिन दुई जनाको सकुशल उद्धार गरिएको खबरले सबै नेपालीलाई खुसी दिएको छ ।
त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भई काठमाडौंका थप उपचार भइरहेको सञ्जय साह र कविर महर्जनका परिवारको खुसीको त सीमा नै छैन । यो खबरले अन्य सम्पर्कविहीनका परिवार र आफन्तमा थप आशा पलाएको छ ।
उद्धार भएका कविर महर्जन र सञ्जय साहको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल उपचार भइरहेको छ । बिहानै उद्धार गरी अस्पताल ल्याइएपछि अस्पतालमा आफन्त तथा शुभचिन्तकहरुको भीड नै लागेको थियो ।
आफ्नो मान्छेलाई सकुशल अस्पतालमा देखेपछि परिवारका सदस्य र आफन्त हर्षित देखिन्थे । भावविह्वल थिए । पत्याउनै सकिरहेका थिएनन् । आँसु पनि झर्यो ... खुसीको । कविरकी श्रीमती हिराशोभाका अनुसार अहिले उहाँको आइसीयूमा उपचार भइरहेको छ ।
सुरुमा कविरले आफ्नै श्रीमतीलाई पनि चिन्नु भएन । तर, पछि उहाँले गफ गर्दै गएपछि चिन्नुभयो । यसैगरी सञ्जय साहका परिवार पनि निकै खुसी देखिन्थे । नहोउन् पनि किन ? सञ्जयका जेठान दीपकुमार ज्वाइँ भेटिनुहुन्छ भन्ने आशा नै नभएको बताउनु हुन्छ ।
उहाँका अनुसार सञ्जय पनि आइसीयूमा भर्ना हुनुहुन्छ र चिकित्सकहरुले उहाँको अवस्था सामान्य रहेको परिवारलाई जानकारी दिएका छन्। आफ्नो मान्छे जसरी नै अरुको परिवारका सदस्य पनि भेटिउन् भन्ने कामना दीपकुमारको छ ।
सुरुङभित्र अहिले पनि खोजी कार्य जारी छ । आशा छ, अरु हराइरहेका व्यक्तिको पनि छिटै उद्धार होस् र परिवारका अनुहारमा खुसी छाओस् ।