
बर्दिया । भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा बर्दियाका ७२ जना सम्पर्कविहीन छन् । बारबर्दिया नगरपालिकाबाट मात्रै मजदुर गर्न गएका २४ जना सम्पर्कविहीन भएका छन् ।
उनीहरू सबै मैलुङस्थित हाइड्रो पावरमा काम गर्न गएका थिए । बाढीपछि सम्पर्कविहीन भएकाहरूको घरमा सन्नाटा छ भने सबै गाउँलेहरू चिन्तामा छन् ।
बर्दियाको बारबर्दिया-१ का ६७ वर्षीय आशुराम थारूका छोरा दीपेन्द्र र बुहारी फुलमाया तामाङ भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ । भाटेकोशीमा आएको बाढीपछि यो वडाका नौ जना सम्पर्कविहीन छन् । दीपेन्द्र र फुलमायका दुई छोरा र छोरी घटनाका बेला काठमाडौंस्थित मामाघर गएकाले सकुशल छन् । तर, छोराबुहारी सम्पर्कमा नआएपछि आशुराम विक्षिप्त बन्नुभएको छ ।
आर्थिकरूपमा कमजोर आशुराम सरकारसँग आफ्ना छोराबुहारीको सकुशल खोज तथा उद्धारको प्राथना गर्नुहुन्छ । बारबर्दिया-१ कै शिवकुमार थारू र घुमावीर थारू दाजुभाइ गत वैशाख २६ गते त्रिशुली हाइड्रो पावरमा काम गर्न जानुभएको थियो ।
भदौ १० मा आएको बाढीबाट भाइ घुमावीर भागेर अग्लो ठाउँमा पुगेर ज्यान जोगाउन सफल हुनुभयो तर बाढी आएका बेला डेरामा रहेका दाजु शिवकुमारको अझैसम्म कुनै पत्तो छैन । सोही वडाकी २१ वर्षीया सीता थारू बाढीमा बेपत्ता भएका श्रीमान आशिषलाई अश्रुधारासहित कुरिरहनुभएको छ।
सीताले अन्तिम पटक भदौ ९ गते श्रीमान आशिसँग कुरा गर्नुभएको थियो । बाढीमा बेपत्ताहरूको खोजीका लागि पालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि र प्रभावित परिवारका सदस्यलाई घटनास्थलमा पठाइएको छ । यसै पालिकाबाट ०८०/८२ सालमा रसुवा र दोलखामा जलविद्युत् परियोजनामा काम गर्न नौ जनाको ज्यान गइसकेको छ ।
गरिब र विपन्नताबाट मुक्ति पाउन रोजगारी खोज्दै रसुवा पुगेका युवाहरू बाढीमा बेपत्ता भए । तिनका आश्रितहरू अझै पनि सुखद खबर पाउने आशामा घरमा पर्खिइरहेका छन् ।