
काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी र पहिरोपछि जारी खोज तथा उद्धार कार्यमा नेपालकै सुरक्षा संयन्त्र परिचालन गरिरहेको सरकारले तत्काल खोजी कार्यका लागि विदेशी सहयोग नलिने भएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बाढी प्रभावितहरुको खोज तथा उद्धारमा सुरक्षा तथा विज्ञ जनशक्तिसहितको संयन्त्रले काम गरिरहेको छ । स्थिति जटिल बनेर बाह्य सहयोग चाहियो भने परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरी अन्तर्राष्ट्रिय सहयोग लिने सरकारले जनाएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्र बहादुर कार्कीले सशस्त्र प्रहरी बलको उपकरण टिम परिचालन गरिएको बताउनुभयो । खोज तथा उद्धारको विशेष टोली, विपद् सामूहिक उद्धार एम्बुलेन्ससहितको मेडिकल टोली, प्रभावितलाई होल्डिङ सेन्टरमा राख्दा व्यवस्था गर्ने सीसीसीएम टोली, राेप रेस्क्यू टिम, वाटर रेस्क्यू टिम, गोताखोर, डग स्क्वाड, ड्राेन स्क्वाड, काेल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यू टिमलगायत परिचालन गरिएको उहाँले बताउनुभयो ।
जीवित व्यक्ति भएको पहिचान गर्ने लाइभ डिटेक्सन डिभाइस चारवटै प्रभावित क्षेत्रमा पठाइएको छ । त्यस्तै नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ७ सैनिक र ७ निजी गरी उद्धारमा १४ वटा हेलिकप्टर परिचालन गरिएको छ । सेना र निजी गरी दुईवटा एमआई-१७ र आगस्टालगायत १४ हेलिकप्टर परिचालन गरिएको छ ।
मुख्यगरी सर्च एन्ड रेस्क्यूमा काम भइरहेको सेनाले जनाएको छ । डेमाेलिसन ह्यामर, हेलि बास्केट, राेटरी ह्यामरलगायतका उपकरण प्रयोग गरेर उद्धारको काम भइरहेको छ । शुक्रबार साँझ पौने सात बजेसम्ममा ८ सय ९८ जनालाई हेलीबाट उद्धार गरिएको छ ।
सर्च एन्ड रेस्क्यू र राजमार्ग खुलाउन ७ हजार ६ सयभन्दा धेरै फौज परिचालन गरिएको छ । एनआरडीएफले यस्ता विपद्मा अन्तराष्ट्रिय रेस्क्यूको सहजीकरणको काम गर्छ । यसमा बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र रहने व्यवस्था छ ।
जसले मित्रराष्ट्रहरुमा भएको यस किसिमका विपद्मा उद्धारमा काम गर्ने व्यवस्था छ । तर, यो अन्तराष्ट्रिय सहयोग विपद्ग्रस्त अवस्था सिर्जना भएको मुलुकका सरकारले आह्वान गरेपछि मात्र हुन्छ । यस्तो रेक्स्यूको नेतृत्व सम्बन्धित मुलुकको राष्ट्रिय सेनाले गर्ने व्यवस्था रहेको नेपाली सेनाका पूर्व उपरथी पूर्ण सिलवाल बताउनुहुन्छ।
विदेशबाट आउन सक्ने सहयोग लिने कि नलिने भन्ने विषयमा सरकारले आफ्नो सहयोगको विषयमा सरकारको हातमा रहे पनि छिमेकी मुलुकलाई उद्धारको अनुमति दिँदा एक मुलुकलाई दिने अर्कोलाई नदिने गर्न नमिल्ने सिलवालको राय छ। धेरै मुलुकलाई अनुमति दिँदा व्यवस्थापन गर्न गाह्रो हुन्छ।
विदेशी उद्धार टोलीले शव रिकभरीको काम नगर्ने भएकाले पनि पहिला आफ्ना सुरक्षा निकायको क्षमता मुल्याङकन गर्नुपर्ने उहाँ बताउनुहुन्छ।