.png&w=1000&height=550)
काठमाडौं । रसुवाको भोटोकोशीमा आएको विनाशकारी बाढीपछि सयौं हराइरहेका छन् ।
बाढी आएको शुक्रबार तीन दिन भइसक्यो । हराइरहेकाहरुको सास होस् वा लास पाउने आशामा आफन्तहरु अस्पतालमा धाइरहेका छन् । अस्पतालका भित्तामा हराइरहेका व्यक्तिहरुको फोटो टाँसेर उनीहरु भेट्टाइने आशामा छन् । तीन दिनदेखि उनीहरुका आँखा ओभानो छैनन् ।
अस्पतालमा एम्बुलेन्स आउनासाथ कतै आफ्ना मान्छे पो छ कि भन्दै सबैजना हुरूरू एम्बुलेन्सतिर जान्छन् र नपाएपछि निरास भएर फर्किन्छन् । अस्पतालमा आफन्त खोजिरहेकाहरु कति पटक भक्कानिए कति पटक रोए कुनै लेखाजोखा छैन ।
कति त निशब्द छन् । बोल्न पनि सक्दैनन् । मोबाइलमा श्रीमान प्रदीप श्रेष्ठको फोटो छ। फोन नम्बर पनि छ। तर, तीनदिन भयो, फोन लाग्दैन। काठमाडौंको फर्पिङ्की विष्णुदेवी बिहीबारदेखि अस्पताल अस्पताल पुग्दै गुहार्दै हुनुहुन्छ। घरि रूनुहुन्छ, घरि टोलाउनुहुन्छ।
एम्बुलेन्सको आवाज सुन्नेवित्तिकै कुद्नुहुन्छ। रसुवा विपत्तिमा परेका घाइतेहरु ल्याइएका अस्पतालमा कतै साथीहरुसँग रसुवाको गोसाईँकुन्ड घुम्न गएका श्रीमान भेटिनुहुन्छ कि ? शुक्रबार उहाँ शिक्षण अस्पतालमा भेटिनुभयो।
सिन्धुपाल्चकका सोमबहादुर तामाङका छोरा रसुवामा जलविद्युत् आयोजनामा चालक हुनुहुन्थ्यो। अन्तिमपटक आइतबार छोरासँग फोनमा कुरा हुँदा छोराले काम सकेर छिट्टै आउँछु भनेका थिए। तर, न छोरा आए, न छोरा फर्किने कुनै सन्देश नै आयो।
कसैका श्रीमान हराएका छन्, कसैका श्रीमती। कसैका भाइबहिनी त कसैका सिंगै परिवार सम्पर्कबाहिर छन्। अर्घाखाँचीका ज्ञानुराम भुसाल भान्जाको खोजीमा हुनुहुन्छ। कहिले शिक्षण अस्पताल, कहिले वीर अस्पताल त कहिले ट्रमा सेन्टर- उहाँ हिजोदेखि कुदाकुदमा हुनुहुन्छ।
घरिघरि बहिनीले भान्जाका बारेमा बुझ्न फोन गरिरहँदा उहाँसँग सुनाउने खबर नै छैन। १२ जनाको टोलीमा कैलाश मानसरोबर गएका भान्जा भेटिने आशा भने बाँकी नै छ। भुसाल भान्जा खोज्न आउँदा सिन्धुपाल्चोककै मललामा तामाङ भने मामा खोज्न ट्रमा सेन्टर पुग्नुभएको छ।
जब अस्पताल परिसरमा कुनै गाडी वा एम्बुलेन्सको साइरन बज्छ, यसरी अस्पतालमा आफन्त खोजिरहेकाहरुको आफन्त भेट्ने आशा बढ्छ। तर, आफन्त नभेट्दा फेरि निराशाले अनुहार छोप्छ। अस्पतालको आँगनमा आफन्त खोज्न पुगेकाहरुको भीड हुँदा अस्पतालका भित्ताहरु हराएका ती मानिसका फोटोले भरिन थालेका छन्।
हँसिला मानिसका चिटिक्क परेका फोटोहरु बोल्दैनन् । तर, फोटाका यी हराएका मानिस फर्किन्छन् र साँच्चै हाँसेर बोल्छन् भन्ने आशा बोकेर मानिसहरु अस्पताल पुगिरहेका छन्। केही भने मोबाइलबाटै देखाउँदै हराएका आफन्त खोजिरहेका छन्।
उपचार गराइरहेका घाइतेको सूचीमा आफन्तको नाम नभेटिएपछि उनीहरु अस्पताल प्रशासनमा नाम लेखाउँछन् र खबर आउने प्रतिक्षा गर्छन्। आशा भन्ने कुरा पनि कति ज्याद्रो हुन्छ। सास नभए लासै सही भन्दै केही मानिस शव गृहसम्म पनि पुगेर खोजिरहेका भेटिए ।
रसुवादेखि नुवाकोट हुँदै धादिङसम्मै पुगेको बाढीको विपत्तिमा सयौं मानिस अझै हराएका छन्। सरकारले खोजी जारी राखेको बताइरहेको छ। तर, आफन्त हराएका मानिसहरु ढुक्क हुन सकेका छैनन्।