.png&w=1000&height=550)
सप्तरी/कञ्चनपुर । कोशी र महाकाली सीमापार नदी हुन् ।
यी नदी भारत प्रवेश गर्ने बिन्दुमा ठूला ब्यारेजसमेत बनेका छन् । त्यसैले नेपालको जलाधार क्षेत्रमा आउने बाढीको प्रभाव कोशी र शारदा ब्यारेजमा कस्तो पर्छ र त्यसले भारतको बिहार र उत्तर प्रदेश तथा उत्तराखण्डमा कस्तो क्षति पुग्नसक्छ भन्ने सूचना पाउनु र त्यो सूचना दुवै देशका नागरिकसम्म समयमै पुर्याउनु महत्वपूर्ण हुन्छ ।
कोशी, महाकालीमा बाढीको सूचना कहाँबाट आउँछ ? पानी कसले मापन गर्छ ? र, नेपाल-भारतबीच कसरी सूचना आदानप्रदान हुन्छ त ?
महाकाली नदीमा राखिएका मापन केन्द्रबाट जलस्तर र बहावको तथ्यांक संकलन हुन्छ । जल तथा मौसम विज्ञान विभागले प्राप्त तथ्याङ्कलाई वर्षा र मौसमको पूर्वानुमानसँग विश्लेषण गरी बाढीको सम्भावित जोखिम पहिचान गर्छ । जोखिम बढेपछि सम्बन्धित निकाय र नागरिकलाई पूर्वसूचना दिने गरिन्छ ।
महाकाली सीमापार नदी हो । त्यसैले एउटा देशको माथिल्लो तटीय क्षेत्रमा आएको बाढीको असर अर्को देशसम्म पुग्नसक्छ । महाकाली नदीमा कञ्चनपुरको गड्डाचौकीसँग जोडिएको शारदा ब्यारेज सूचना र जोखिम व्यवस्थापनको महत्वपूर्ण बिन्दु हो ।
नदीको बहाव बढ्दा ब्यारेजको अवस्थासम्बन्धी सूचना भारतीय पक्षमार्फत नेपालतर्फ पनि आउँछ । बहाव बढ्दा ब्यारेजमाथिको नेपाल-भारत जोड्ने पुलमा आवागमन रोक्ने गरिएको छ । करिब एक शताब्दी पुरानो ब्यारेज कमजोर बन्दै गएकाले नदीमा एक लाख क्यूसेकभन्दा बढी बहाव हुँदा चारपाङ्ग्रे सवारीसाधन र दुई लाख क्यूसेकभन्दा बढी बहाव हुँदा दुईपाङ्ग्रे सवारीसाधन तथा पैदलयात्रुसमेतको आवागमन रोक्ने गरिन्छ ।
महाकालीमा बहाव बढेपछि नेपालतर्फ प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहबीच सूचना आदानप्रदान हुन्छ । आवश्यकताअनुसार भारतीय सीमावर्ती निकायसँग पनि सम्पर्क गरिन्छ । सीमावर्ती समुदायमार्फत पनि मोबाइल फोन, सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कबाट नदीको अवस्थाबारे जानकारी एकअर्कासम्म पुग्ने गरेको छ ।
क्रस बोर्डर सूचना प्रणाली माथिल्लो तटीय क्षेत्रबाट तल्लो तटीय क्षेत्रमा, एक देशबाट अर्को देशमा र सरकारबाट समुदायसम्म सूचना पुर्याउने संयन्त्र हो । यसमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, समुदाय र सञ्चारमाध्यमसमेत जोडिन्छन् ।
तर, नेपाल-भारतबीचको सूचना प्रणाली पूर्णरूपमा एउटै स्वचालित डिजिटल प्लेटफर्ममा जोडिएको छैन । त्यसैले समयमै तथ्यांक आदानप्रदान, स्पष्ट सम्पर्क संयन्त्र र समुदायसम्म सूचना पुर्याउने अन्तिम प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
किनकी बाढीलाई सीमा थाहा हुँदैन । सही सूचना सही समयमा दुवै देशका जोखिममा रहेका नागरिकसम्म पुग्न सके बाढी रोक्न नसकिए पनि क्षति भने धेरै हदसम्म घटाउन सकिन्छ ।