नदीसँगै बस्ती, बाढीसँगै जोखिम

भाद्र १९, २०८३ |महेश केसी
नदीसँगै बस्ती, बाढीसँगै जोखिम

रुकुम पश्चिम । नदी हाम्रो दैनिकी संग जोडिएको एक अमुल्य उपहार हो । तर, यही नदीमा आउने भेल-बाढीका कारण कयौंपल्ट मानव जीवन नै संकटमा परिरहेका डरलाग्दा तथ्य हाम्रा अघि छन् । 

तैपनि नेपालका कयौं बस्तीहरु अहिले पनि नदीको तटीय क्षत्रमा अवस्थित रहेका छन्। नदी जीवनको आधार हो- पानी, खेतीपाती र मानव सभ्यतासँग जोडिएको प्रकृतिको अमूल्य उपहार । तर, यही नदीको किनारमा फैलिँदै गएको मानव बस्ती कतिपय अवस्थामा ठूलो जोखिमको कारण बनिरहेको छ । 

वर्षायाममा आउने बाढी, नदी कटान र धार परिवर्तनले नदीकिनारका बस्तीलाई बारम्बार संकटमा पार्ने गरेका छन् । आखिर नेपालका कुन-कुन प्रमुख बस्ती नदीको छेउमा छन्। र, त्यहाँ बसोबास गर्नु कति सुरक्षित छ ?

यो विषय बृहत हुनसक्छ । तर, यसबारेमा आवश्यक अनुसन्धान एवं पूर्वतयारी जरुरी छ । आज हामी यस रिर्पोटमा केही यस्ता प्रतिनिधि ठाउँबारे चर्चा गर्ने छौं, जुन नदी तटीय क्षेत्रमा अवस्थित छन् । यो हो, डोल्पाको जिल्ला सदरमुकाम दुनै बजार । 

भेरी नदीको छेवैमा अवस्थित यो बजार हेर्दा लाग्छ नदी र बस्ती एक-अर्काका पर्याय हुन् । एक सय बर्षभन्दा लामो इतिहास बोकेको यो बस्तीमा कुनै दिन नदीले दुःख नदेला भन्न सकिन्न । तर, यो बजार र बस्ती निर्धक्क चलेको छ ।

त्यस्तै नदीको छेउमा अवस्थित छ बझाङको सदरमुकाम चैनपुर। तीनतिरबाट नदीले घेरिएको सानो टापुजस्तो भू-भागमा बसेको यो बस्ती बाहुलीगाड र सेती नदीको प्रभाव क्षेत्रमा पर्छ । नदीमा पानीको बहाव असामान्य रूपमा बढ्दा आसपासका बस्तीमा बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ ।

तर, यो जोखिमबारे सरोकारवाला कत्तिको सचेत छन् ? बाढीको जोखिमबाट बच्न पूर्व तयारी के छ ?

म्याग्दीको सदरमुकाम बेनी बजार पनि नदीसंग नजिक र बाढी-कटानको जोखिममा रहेको क्षेत्र हो । कालीगण्डकी र म्याग्दी नदीको दोभानसंग जोडिएको बेनीमा दुई नदीको दबाब छ । माथिल्लो म्याग्दी उपत्याकामा भारी वर्ष हुँदा म्याग्दी नदी बढ्न सक्छ र मुस्ताङ-कालीगण्डकी जलाधारमा ठूलो बहाव आएमा कालीगण्डकी बढ्न सक्छ । 

गत असार पहिलो सातातिर कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी बजार जोखिममा समेत परेको थियो । यी तीनवटा जिल्ला सदरमुकाम त प्रतिनिधि बस्ती हुन् जो नदी तटीय क्षेत्रमा अवस्थित छन् । यसबाहेक अरु सयौं बस्तीहरु छन् जुन नदी किनारामा नै दिनानुदिन गुलजार बनिरहेका छन् । 

सर्वसाधारण र सरकार स्वयम्ले पनि ठूलो लगानी गरेर सम्पत्ति र सम्पदाको विकास तथा विस्तार गरिरहेका छन् । नदीले आफ्नो रौद्र रुप धारण गर्न बेर लाउँदैन भन्ने उदाहरण त पछिल्लो भोटेकोशी बाढी नै हाम्रा लागि काफी छ । तर, हामीलाई 'नपरी नचेत्ने' चेते पनि फेरि चाडै बिर्सिएर साविककै अवस्थामा फर्किने बानी परेको छ । 

यसकारण त जोखिम मात्रै हैन, यसप्रकारको अकल्पनीय क्षतिबाट बर्षेनि हामी पीडित र प्रताडित हुन अभिषप्त छौं । नदीको छेउमा बसोबास गर्नु प्रक्रतिसँग नजिकिनु मात्र होइन, सम्भावित जोखिमसँग पनि सँगै बस्नु हो । बाढी, कटान र नदीको धार परिवर्तनले क्षणभरमै मानव बस्तीलाई संकटमा पार्न सक्छ । 

आज सुरक्षित देखिएको नदीकिनार भोलिको विपत्तिको केन्द्र बन्न सक्छ । त्यसैले नदीको प्राकृतिक बहाव र जोखिम क्षेत्र बुझेर मात्र सुरक्षित बस्ती विकास गर्नु आवश्यक छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।