
काठमाडौं । शान्त वातावरणमा बुटवलको बेलबासबाट बेथरी हुँदै पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गराउने उद्देश्यले ११ वर्षअघि बेलबास बेथरी पर्यटन मार्ग सुरु भयो ।
चार लेनको सडक आसपासमा हरियाली र बिचमा नहरसहितको यो मार्ग देशकै नमूना हुने चर्चा गरियो । तर, संघले प्रदेश र प्रदेशले संघको मुख ताक्दा अहिलेसम्म पर्यटन मार्ग अलपत्र छ ।
यो बेलबास बेथरी पर्यटन मार्ग बुटवलबाट पर्यटकलाई सिधै लुम्बिनी लैजान भन्दै २०७२ मा संघ सरकारले सुरु गरेको हो । तीन वर्षमा पूरा गर्नेगरी सुरु भएको १ अर्ब ८० करोड रुपैयाँ लागतमा सुरु भएको २१ किलोमिटर लम्बाइको पर्यटन मार्ग कहिले सकिनेहो टुंगो छैन ।
तर, निर्माणका लागि सडक भताभुंग पार्दा सडक प्रयोगकर्ताहरुलाई सास्ती भएको छ । हिउँदभर धुलाम्य हुने सडक वर्षा लाग्यो कि हिलाम्य भएको छ । ठूला ठूला खाल्डामा सवारीका साधन चलाउन समस्या भएको छ । यही कारण दुर्घटनासमेत बढेको छ ।
२१ किलोमिटर लम्बाइको चार लेनकाे पर्यटन मार्ग मध्ये बुटवल क्षेत्रको नहर३पुर मोतीपुर खण्डको करिब ६ किलोमिटर अहिलेसम्म अलपत्र छ । २०७३ सालमा ६० करोड ९१ लाख ९० हजार ३८३ रुपैयाँमा ठेक्का सम्झौता गरेको बज्रगुरुले ३५ करोड ३५ लाख ७५ हजार रुपैयाँ लगेको छ । तर, २०७६ असार मसान्तसम्म सक्ने भनिएको पर्यटन मार्गमा २०८१ सालपछि नत काम भएको छ नत म्याद थपिएको छ ।
अलपत्र सडकले स्थानीय हैरान छन् । संघीय सरकारले आर्थिक वर्ष २०७२/०७३ मा निर्माण सुरु गरेको पर्यटन मार्ग २०७५ सालमा लुम्बिनी प्रदेश सरकारलाई सुम्पिएको थियो । सघको योजना भन्दै प्रदेश सरकारले अपनत्व नलिँदा निर्माण नसकिएको हो ।
संघले सुरु गरेको सडक प्रदेशले अगाडि बढाउन नसक्ने जनाएपछि गत वर्ष संघीय सरकारले १८ करोड रुपैयाँ सडक विस्तारमा पठाउने सुनिश्चितता गरेको थियो । तर, विविध कारणले आएन । सडक अहिले पनि अलपत्र अवस्थामा छ । संघर प्रदेश एक आपसमा विकासका योजनामा लड्दा बेलबास बेथरी जस्ता धेरै सडक अहिले अलपत्र छन् ।
विकास संघ र प्रदेशका लागि भन्दा पनि नागरिकको उपयोगका लागि हो । यसमा संघ प्रदेश र स्थानीय तह तीनवटै सरकारले ध्यान दिन जरुरी छ ।