कान्तिपुरको स्थलगत रिपोर्टिङ : कप्तानगन्ज घटना एक दिनको आकस्मिक विस्फोट मात्र होइन, के हो यथार्थ ?

श्रावण १८, २०८३ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरको स्थलगत रिपोर्टिङ : कप्तानगन्ज घटना एक दिनको आकस्मिक विस्फोट मात्र होइन, के हो यथार्थ ?

सुनसरीको कप्तानगन्जमा साउन १० को राति लाउड स्पीकरमा धार्मिक गीत बजाइएको विषयमा सुरु भएको विवाद बढ्दै जाँदा तीन जनाको मृत्यु हुने अवस्थासम्म पुग्यो । 

तनाव सिरहा र धनुषासम्मै पुग्यो । मानवीय क्षतिमात्र नभइ निजी र सार्वजनिक सम्पत्तिमा समेत तोडफोड र आगजनी भए । तर, कप्तानगन्जमा जे भयो त्यो कुनै अलग्गै, छिटपुट घटना वा एक रातको विष्फोट होइन। 

कान्तिपुरको अनुसन्धानले देखाउँछ, कप्तानगन्जको घटना पछिल्ला वर्षहरूमा मधेशमा देखिँदै आएका ठूला प्रवृत्तिसँग जोडिएको छ-धार्मिक ध्रुवीकरण, सीमापारिको धार्मिक–राजनीतिक प्रभाव, सामाजिक सञ्जालबाट तीव्र रूपमा फैलिने उत्तेजना र राज्य संयन्त्रको निरन्तर बेवास्ता ।

१० साउन, आइतबार राति करिब १० बजे ५९ वर्षीय कृष्णदेव मेहताले छोरालाई फोन गरे-‘छिटो घर आइज ।

‘निस्किसकें, अब आइहाल्छु,’ ३१ वर्षीय ओमप्रकाशले यति भनेर फोन राखे।

ठिक त्यहीबेला कप्तानगन्ज चोकको नयाँ हटियामा गोली चल्यो।

ओमप्रकाश ९ बजे नै विस्तरामा ढल्किसकेका थिए । घरदेखि ७ सय मिटर दूरीको चोकमा तनाव सुरु हुन थालिसकेको थियो । सामाजिक सञ्जालमा लाइभ हेरिरहेका उनले आफ्नै साथीसँगीको भिडियो देखेपछि उठेर जाने तरखर गरे।

छोरो निस्कन खोजेको ५९ वर्षीय बुबा कृष्णदेव मेहताले चाल पाए। रोक्ने कोसिस गरे । ओमप्रकाशले मानेनन्।

त्यसको १५ मिनेटपछि नै कृष्णदेवले छोरालाई फोन गरेका थिए । तर, क्षणभरमै छोराका ‘बेस्ट फ्रेन्ड’ दीपक मेहताको फोन आयो - ‘ओमप्रकाशलाई गोली लागेको छ।’

कृष्णदेव दौडिँदै चोकमा पुग्दा ओमप्रकाशलाई एम्बुलेन्समा हालिसकिएको थियो। त्यहाँ भएकाहरूले कृष्णदेवलाई भने, ‘खासै खतरा छैन, निको होला।’

कृष्णदेव घर फर्किए, कपडा फेरे, र विराटनगरतिर लागे। ओमप्रकाशलाई न्युरो अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। कृष्णदेवले छोराको अनुहार पनि हेर्न पाएनन्। बिहान आफन्त-छिमेकीले कृष्णदेवलाई भने- ‘उपचार हुँदै छ। यहाँ हामी छँदै छौं। अहिले घर जानू। श्रीमती सम्हाल्नू।’

त्यतिन्जेल ओमप्रकाशको मृत्युको खबर सामाजिक सञ्जालमा व्यापक भइसकेको भए पनि कृष्णदेवलाई कसैले भनेको थिएन। फर्कंदा गाडी हाँकिरहेका भतिजाले लामो भूमिका बाँधेर सम्झाउँदै सुनाए। कृष्णदेव सम्झन्छन्, ‘उसको त बाटैमा दम टुटिसकेछ। सुन्नेबित्तिकै मैले त होसै गुमाएँ।’

बिछ्यौनामा सुतिरहेका ओमप्रकाश हतपत् उठेर हिँडेका थिए। अहिले पनि उनको बिस्तारा उस्तै छ।

ओमप्रकाशको घरबाट पश्चिमपट्टी, कप्तानगन्ज चोकदेखि करिब सय मिटर दक्षिणतिर बस्छन् छ ७२ वर्षीय मोहम्मद ताहिर मियाँको घर ।

११ साउन, सोमबार दिउँसो। कप्तानगन्जमा कर्फ्यु लागिसकेको थियो। करिब १२ बजे आक्रोशित भीड आयो। ताहिरको घरमा पेट्रोल छर्केर आगो लगायो । घरभित्र भएकाहरू बाहिर निस्कन त सके तर, दुई घर र परालको थुप्रो जल्यो।

‘हामी सधैँ भाइचारा भएर बसेका थियौं,’ उनी भन्छन्।

ओमप्रकाश प्रहरीको गोलीले मारिए। ताहिरको घर भीडले झोंसेको आगोले जल्यो। दुई फरक समुदाय – हिन्दू र मुस्लिम – का यी दुई परिवारको साझा भनाइ छ : ‘यहाँ त कहिल्यै यस्तो भएको थिएन।’

देवानगञ्जको वडा नं. ३ कप्तानगन्ज–जहाँबाट सिधा एक किलोमिटर दक्षिणको दूरीमा भारतको सीमा आउँछ– यहाँ हिन्दू–मुस्लिम हिंसाको कुनै इतिहास थिएन। त्यहींबाट सुरु भएको विवादले तीन जनाको ज्यान लियो। आइतबार राति गोली लागेर घाइते भएका कप्तानगन्जकै अर्का युवा जयप्रकाश मेहताको चार दिनपछि उपचारका क्रममा मृत्यु भयो। बिहीबार सिराहाको गोलबजारमा गणेश यादवको मृत्यु भयो।

कान्तिपुरको स्थलगत रिपोर्टिङ, दर्जन बढी अन्तर्वार्ता र अघिल्ला वर्षहरूका अभिलेखले देखाउँछन् – कप्तानगन्जमा जे भयो त्यो कुनै अलग्गै, छिटपुट घटना वा एक रातको विष्फोट होइन। कान्तिपुरको अनुसन्धानले देखाउँछ, कप्तानगन्जको घटना पछिल्ला वर्षहरूमा मधेशमा देखिँदै आएका ठूला प्रवृत्तिसँग जोडिएको छ- धार्मिक ध्रुवीकरण, सीमापारिको धार्मिक–राजनीतिक प्रभाव, सामाजिक सञ्जालबाट तीव्र रूपमा फैलिने उत्तेजना र राज्य संयन्त्रको निरन्तर बेवास्ता।

कप्तानगन्जको त्यो रात र त्यसपछि मधेशमा फैलिएको तनाव कुनै एक दिनको आकस्मिक विस्फोटमात्र होइन। यो स्थानीय राजनीतिक र प्रशासनिक संयन्त्रले बेवास्ता गरेका पूर्वचेतावनीका संकेत, हिंसा भइसकेपछि मात्र सक्रिय हुने सुरक्षा संयन्त्र र प्रायः मौन रहने राजनीतिक दलहरूको सामूहिक असफलताको परिणाम पनि हो।

कप्तानगन्ज घटनाको बीउ करिब महिनाअघि रोपिएको थियो।

१४ असारमा मुस्लिम समुदायले नयाँ हाट बजारस्थित सार्वजनिक जग्गामा वडा कार्यालयको अनुमति लिएर मोहर्रम मनाएका थिए। पर्व सकिएपछि दुई निशान झण्डा र राष्ट्रिय झण्डा त्यहीं छाडे । हिन्दूहरूले साउन लाग्नेबित्तिकै शिव मन्दिर नजिकै राखिएका ती झण्डा हटाउन पहल गरिदिन वडा कार्यालयलाई अनुरोध गरेका थिए।

स्थानीय जाबिर आलमले पनि झण्डाले अप्ठ्यारो भएको छ भने हटाइदिन्छौं, विवाद नगरौं भनेर वडाअध्यक्ष र गाउँपालिका अध्यक्षलाई पनि भनेका थिए । तर, कुनै वास्ता नगरेको उनले बताए । इन्सेकका कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलका अनुसार, १० गते आइतबार दिउँसो केही युवाहरूले त्यहाँ पहिलेदेखि राखिएका झण्डा झिकिदिए र त्यसको सट्टामा चोकमा नयाँ राखिएका सडकबत्तीका पोलमा हनुमानका तस्बिर पोतिएका नयाँ झण्डा राखिए।

१० गते राति बोलबम यात्राको तयारीमा हिन्दू युवा शिव मन्दिर नजिकै जम्मा भएका थिए। उनीहरूले लाउड स्पिकरमा ‘जय श्रीराम’ र ‘बोलबमका नारा हे, बाबा एक साहारा हे’ जस्ता गीत घन्काइरहेका थिए । उत्तरतिर फर्किएको गाडीमा राखिएको लाउड स्पिकरको मुख दक्षिणतिर फर्कियो, जहाँ करिब १०० मिटरबाटै मुस्लिम टोल सुरु हुन्छ।

हिन्दू समुदायका मानिसहरूको भनाइमा त्यसरी गीत बजाएकोमा नै मुस्लिम युवाहरूले विवाद गर्न गए। मुस्लिम समुदायका व्यक्तिहरू भने त्यसरी लाउड स्पीकरमा गीत शिव मन्दिरभन्दा पनि दक्षिणतिरको मुस्लिम बस्ती नजिक पुराएर झन् चर्को स्वरमा बजाइएको र ८-१० वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल ल्याएर बारम्बार सकडमा घुमाएर त्रसित बनाइएको दाबी गर्छन्।

यसपछि विवाद बढ्यो। हात हालाहाल नै भयो। हिन्दू युवाहरू भन्दा बढी संख्यामा आएका मुस्लिम युवाहरूले पिटेको र आफैंले उल्टै पिटाइ खाएको भन्दै प्रहरीलाई मुस्लिम युवाहरूले नै खबर गरेको हिन्दू समुदायका व्यक्तिहरू बताउँछन् । मुस्लिम समुदायका व्यक्तिहरू भने आफूहरूले नपिटेको तर विवाद बढ्ने देखेपछि प्रहरीलाई खबर गरेको बताउँछन्।

स्थलगत अनुसन्धानबाट आफूहरूले पत्ता लगाएको विवरणका आधारमा इन्सेकका कोशी प्रदेश संयोजक पोखरेल भन्छन्, ‘हिन्दू पक्षका युवाहरु थोरै थिए। सुरुमा उनीहरूले पिटाइ खाए। अनि उनीहरूमध्येकै केहीले गाउँमा सहयोग मागेछन्। त्यतिन्जेल प्रहरी आइपुगेका थिए।

प्रहरीले जाऊ भनेपछि मुस्लिम युवाहरु घर गए। तर, आफूहरूले पिटाइ खाएको र त्यसको बदला लिने भन्दै हिन्दू युवा फर्कन मानेनन्। उनीहरू मुस्लिम बस्तीतिर बढ्न खोजेका थिए, त्यसपछि रोक्न खोज्ने प्रहरीसँग झडप भयो।’

स्थानीय जाबिर आलम पनि यही भन्छन्, ‘प्रहरीले हामीलाई हाम्रै टोलमा रोके, त्यसपछि हामी गएका छैनौं। प्रहरीले उनीहरूलाई उत्तरबाट यता आउन रोक्यो। धकेलाधकेल हुँदा प्रहरीसँग उनीहरूको हानाहान भएको हो । हिन्दू-मुस्लिम झडप भएकै होइन। उनीहरूको प्रहरीसँग झडप भएको हो।

ठ्याक्कै सुनसरीको देवानगञ्ज/कप्तानगन्जमा यस्तो घटना नदेखिएको भए पनि अभिलेख केलाउँदा यो आसपासको क्षेत्र धार्मिक-विवादसँग जोडिएका तनाबबाट अछुतो भने थिएन। इन्सेकको अभिलेखअनुसार सुनसरीमा मात्रै सन् २०२४ मा तीन, २०२५ मा दुई र २०२६ मा (हालसम्म) दुई गरी सात वटा यस्ता घटना दर्ता छन्।

सुनसरीबाट पश्चिम- मधेशका जिल्ला हुँदै नेपालगञ्जसम्मै यस्ता घटना भइरहेको विवरण सार्वजनिक रूपमा प्रशस्तै उपलब्ध छन्। कान्तिपुरले २०७५ देखि हालसम्म ८ वर्षको अवधिमा तराईमा मात्रै कम्तीमा पनि १७ वटा यस्ता घटनाको अभिलेख भेट्यायो।

उक्त सूची सञ्चारमाध्यममा प्रकाशित भएका समाचारमा मात्र आधारित भएकाले त्यो न्यूनतम संख्या हो। ती घटना पश्चिममा लुम्बिनीको बाँकेदेखि, बीचमा मधेसको पर्सा र पूर्वमा कोशीको सुनसरीसम्मका जिल्लामा भएका छन्। यी सबै तराई-मधेशका भारतसँग सीमा जोडिएका जिल्लाहरू हुन्।

घटनाका कारण पनि एकै प्रकृतिका देखिन्छन्। १७ मध्ये करिब दुईतिहाइ (११ वटा घटना) चाडपर्वको समयमा निकालिएका जुलुस र मूर्ति बिसर्जनको क्रममा भएका विवाद थिए । यीमध्ये धेरैमा प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो।

पछिल्लो समय आगोमा घ्यू थपको छ– सामाजिक सञ्जालले। फेसबुकमा असंवेदनशील टिप्पणी देखिने गरेका छन् । अनलाइन उत्तेजनाबाट सुरु हुने आक्रोश सडकमा पोखिन थालेका छन्।

नर्थ–साउथ कलेक्टिभ्सका अध्यक्ष विराटनगरका दिनेश श्रेष्ठ पछिल्लोसमय सार्वजनिक भएका यस्ता विवाद अकस्मात वा प्रसंगवश घटेका छुट्टाछुट्टै घटना नभएको विश्लेषण गर्नुहुन्छ । नेपालमा नियोजित ढङ्गले धार्मिक द्वन्द्व बढाउने प्रयत्न भइरहेको देखिने उनको भनाइ छ ।

पछिल्लोसमय बढ्दो धार्मिक समुदायबीचको तनाबबारे विरगञ्जका पत्रकार र लेखक चन्द्रकिशोरले देखेका प्रवृत्तिहरू कप्तानगन्जको घटनासंग पनि मिल्छन् । उनका अनुसार कुनै एउटा घटना हुँदा अन्यत्रका त्यही समुदायका मान्छेले पोजिसनिङ लिने, सार्वजनिक धार्मिक अनुष्ठानमा अघोषित प्रतिस्पर्धा र एक अर्काको आस्थाको केन्द्रअगाडि गएर आफ्नो समुदायको नारा घन्काउने र ठाडो चुनौती दिनेजस्ता प्रवृत्ति देखिएका छन् ।

कप्तानगन्जमा पनि विवाद धार्मिक झण्डाबाट सुरु भएर लाउडस्पीकरमा गीतसम्म पुगेको थियो। चन्द्रकिशोरले औंल्याएको चौथो विषय द्वन्द्व समाधानको विषयसंग जोडिएको छ। समाजमा भइरहने यस्ता द्वन्द्व घटाउन हुने बैठकमा पहिले राजनीतिक प्रतिनिधित्व प्रमुख हुन्थ्यो, अहिले त्यसलाई धार्मिक आस्थाको प्रतिनिधित्वले प्रतिस्थापन गरिदिएको छ।

सामाजिक सञ्जालमा मानिसको बढ्दो पहुँचसंगै यसले तनावलाई तीव्र गतिमा फैलाउन मद्दत गरेको चन्द्रकिशोरको बुझाइ छ। तर, सामाजिक सञ्जाल मात्र कारण नभएको उनको भनाइ छ। भारतीय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा मौलाई राखेको अतिवादको असर हामीकहाँ परेको झाको भनाइ छ ।

यही सीमापारीको प्रभावका बारेमा पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ता पनि चिन्तित छन् । ‘विगतमा बिहारमा जातीय संरचनाको सरकार थियो, अहिले भाजपाको हिन्दू वर्चस्वको शासन छ। त्यसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि ध्रुवीकृत हुँदै आएको छ,’ उनले भने।

रामरिझन यादव पनि आफूले प्रत्यक्ष त्यही परिवर्तन हालैका दिनहरूमा देखेको बताउँछन्। आफू जनता समाजवादी पार्टीमा सक्रिय हुँदाको अनुभव सुनाउँदै उनले सीमापारीको धर्मको राजनीतिले मधेशमा कसरी प्रभाव पारिरहेको छ भनेर सुनाए। हाल कुनै पार्टीमा नरहेका उनले - चार वर्ष अगाडि नै आफ्नै पार्टीभित्र आरएसएसले संगठन बनाइसकेको उल्लेख गर्दै आरएसएसको त्यो पकड विराटनगरदेखि पश्चिम नेपालगञ्जसम्मै फैलिएको दाबी गरे ।

र, बढ्दो धार्मिक ध्रुवीकरण भने अहिले दृश्य र संकेतमा पनि सडकमै देखिन थालेको छ। कप्तानगन्जको चोकमा उभिएर वरिपरि हेर्दा जताततै एउटै तस्बिर अंकित झण्डा फरफराइरहेका छन्। त्यहाँबाट विराटनगर, इटहरी, इनरुवा हुँदै पश्चिम मधेश लाग्दा, सडकका दायाँबायाँ, चोक, पसल, घरका छत, बिजुलीका पोल सबैतिर उही तस्बिर अंकित झण्डा छ। झण्डामा अंकित तस्बिर हो हनुमानको।

कप्तानगन्जमा यस्तो घटना पहिलो भए पनि, अन्यत्र पनि उस्तै प्रकृतिका घटना पहिले पनि घटेको अभिलेख हुँदा प्रश्न उठ्छ कतै यस्ता घटना हुन नदिनका लागि निरन्तर चाहिने प्रयास नभएको पो हो कि।

कप्तानगन्जमा भएको घटनाको पाँच दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहको राष्ट्रका नाममा सन्देश, गृहमन्त्रीको स्थलगत भ्रमण, भेटघाट र पीडित परिवारसंग सहमति, राजनीतिक दलहरूको सद्भावको लागि आग्रह र सक्रियता, स्थानीय तहमा विभिन्न समूहका प्रतिनिधिहरूबिचको निरन्तरको संवादसंगै मधेशमा अवस्था अहिले सामान्य हुँदै गएको छ।

तर, आयातित धार्मिक उन्माद, हिन्दूहरूमा बढ्दो संशयको भावना अनि मुसलमान समुदायमा आफूहरू असुरक्षित भएको भावलाई समयमा सम्बोधन गर्न नसकेमा समस्या सतहमा सेलाएको जस्तो देखिए पनि भुसको आगो जस्तै भित्रभित्र जिउँदो रहिरहने सम्भावना नागरिक अभियन्ताहरू देख्छन्।

कान्तिपुरकर्मीहरु तुफान न्यौपाने र पर्वत पोर्तेलको कप्तानगन्ज पुगेर तयार पारेको यो विशेष रिपोर्टमा कृपाल गाैतम र किरण पाैडेलकाे प्रस्तुति


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.