देवानगञ्ज विवादपछि अशान्त बनेको मधेश सामान्य बन्दै

श्रावण १९, २०८३ |अनिल मिश्र
देवानगञ्ज विवादपछि अशान्त बनेको मधेश सामान्य बन्दै

जनकपुर । बोलबम यात्राका क्रममा डिजे बाजाको विषयलाई लिएर सुनसरीको देवानगञ्जमा भएको विवाद फैलिएर अशान्त बनेको मधेश अब शान्त हुँदै गएको छ । 

झडपमा चार जना युवाको मृत्यु र प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरूसमेत घाइते भएपछि सुनसरी हुँदै मधेशसम्म फैलिएको अशान्ति सबै पक्षको संयुक्त प्रयासमा साम्य भएसँगै मधेशको जनजीवन पनि सामान्यतर्फ फर्किएको हो ।

सुनसरीको देवानगञ्ज कप्तानगन्जमा साउन १० गते राति दुई समुदायबीच भएको विवाद र त्यसपछि मधेशसम्म फैलिएको तनाव अब सामान्य हुँदैछ । मानिसहरु आफ्नो दैनिक काम र व्यसायमा फर्किन थालेका छन् । मधेशका जिल्लाहरूमा अहिले बजार, कलकारखाना, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था, कार्यालयसँगै सवारीसाधनहरू पूर्ववतरूपमा सञ्चालन भइरहेका छन् । 

भारतसँग जोडिएका सीमानाकामा पनि सर्वसाधारणको आउजाउ सामान्य अवस्थामा फर्किएको छ । सुनसरीबाट साउन १० गते रातिदेखि सुरु भएको आन्दोलन, झडप, कर्फ्यु र निषेधाज्ञा हुँदै झन्डै एक सातासम्म अशान्त बनेको सप्तरी, सिरहा, धनुषा, मह‍ोत्तरीलगायतका जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न समाजका सचेत वर्गको पहल सार्थक बन्यो । 

आपसी सद्भाव, भाइचारा, सहिष्णुता र अमनचयन कायम राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा र धर्मगुरुको सार्वजनिक अपिलसहितको संयुक्त प्रयास प्रभावकारी रह्यो। भीड, झडप र थप हिंसा भड्किन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनासहितको सुरक्षा परिचालन, सर्वपक्षीय बैठक, सद्भाव र्याली त शान्ति बहालमा महत्त्वपूर्ण रह्य‍ो नै गृहमन्त्री सुधन गुरुङको चार दिनको मधेश बसाइँले पनि सकारात्मक परिणाम दियो । 

अहिले मधेशका मुख्य सडकहरूमा सुरक्षा तैनाथी पनि घटाइएको छ भने सडकमा आएको सेना व्यारेक फर्किसकेको छ । अब मधेश पूर्णरूपमा सामान्य दैनिकिमा फर्किएको प्रदेश सरकारको बुझाइ छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार दोषीलाई सजाय त पाउनै पर्छ सदियौंदेखि सँगै मिलेर बसेको दुई समुदायबीचको विश्वास कायम राख्न र अब फेरि यस्तो स्थिति दोहरिन नदिन गलत तत्वहरूको पहिचान गरी कानुनको दायरामा ल्याउने, अफवाहको पछि नलाग्न सचेत गराउने र आपसी सद्भाव कायम सामाजिकस्तरमै सर्वपक्षीय संवाद र छलफलजस्तो कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनु उचित हुनेछ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।