
मकवानपुर । मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको देशकै महत्त्वपूर्ण ऊर्जा आयोजनामध्ये एक हेटौँडा-ढल्केबर-इनरुवा ४ सय केभी प्रसारण लाइनको निर्माण कार्य पुनः सुरु भएको छ ।
मकवानपुर खण्डमा रोकिएको काम विवादकैबीच सुरक्षाकर्मीको उपस्थितिमा मंगलबारदेखि टावरका लागि बेस निर्माण प्रक्रिया अगाडि बढाइएको हो । हेटौँडा उपमहानगरपालिका-१५, १६ र १७ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन विस्तारको काम ठप्प थियो । मंगलबार पनि स्थानीयले अवरोध गर्ने प्रयास गरेपछि केहीबेर तनावसमेत भएको थियो। प्रभावित स्थानीयवासीले बस्तीबीचबाट प्रसारण लाइन लैजान नहुने, यदि लैजानै परे उचित मुआब्जा सुनिश्चित गर्नुपर्ने तथा स्वास्थ्य र दीर्घकालीन असरबारे स्पष्ट जानकारी दिनुपर्ने माग राख्दै आएका छन् ।
हेटौँडास्थित थानाभर्याङ सबस्टेसनदेखि इनरुवा सबस्टेसनसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो। हेटौंडा-ढल्केबर १ सय ३४ किमि र ढल्केबर-इनरुवा १ सय ५४ किमि मध्ये ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको छ भने हेटौँडा-ढल्केबर खण्डमा अवरोधकै कारण समयमै सम्पन्न हुन सकेको छैन । आयोजना अन्तर्गत कुल ७ सय ९५ वटा टावरमध्ये ९८ वटा टावर मकवानपुर जिल्लामा पर्छन् । २०७५ सालमै टावर रहने जग्गा अधिकरण गरी मुआब्जा वितरण भइरहेको जनाइएको छ । साथै तारमुनि पर्ने जग्गाका हकमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षतिपूर्ति मूल्यांकन समिति गठन गरी कार्य अघि बढाइएको आयोजनाले जनाएको छ ।
समयमै आयोजना सम्पन्न नहुँदा राज्यले वार्षिक ५ देखि ६ अर्ब रुपैयाँसम्मको क्षति बेहोर्नुपरेको छ । साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१३ देखि निर्माण सुरु गरिएको यो आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । हाल सञ्चालनमा रहेको १ सय ३२ केभी प्रसारण लाइनको क्षमता करिब २ सय मेगावाट मात्र भएकाले हिउँदयाममा विद्युत् प्रवाहमा समस्या हुँदै आएको छ । यो प्रसारण लाइनलाई देशको ऊर्जा पूर्वाधार सुदृढीकरणका लागि अत्यन्त महत्त्वपूर्ण आयोजना मानिन्छ ।