
झापा । हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने कन्काई पुल १४ वर्षसम्म पनि निर्माण हुन नसकेपछि ठेक्का तोडिएको छ ।
दक्षिणी तराईको लाइफलाइन हुलाकी सडकमा पर्ने कन्काई पुल नबन्दा राजमार्ग नै उपयोगविहीन भएको छ । २०६८ सालमा निर्माण सम्झौता भएर चार वर्षमा सक्नुपर्ने पुल पााच पटक म्याद थप भएर पनि पूरा हुन सकेन । गाउँपालिका भने बर्षेनि नदी ठेक्कामा दिएर नागरिकबाट रकम असूली रहेछ ।
हुलाकी राजमार्गमा पर्ने कन्काई नदीमाथि ७ सय २५ मिटर लामो डबल लेनको पुल बनाउन २०६८ सालमा ३४ करोडमा ठेक्का लाग्यो। चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी पप्पु महादेव जेभीले ठेक्का लियो। १४ वर्षसम्म निमार्णको काम अलपत्र परेकाले अहिले सरकारले ठेक्का तोडेको छ। कन्काई वारीपारी गर्न स्थानीय नागरिकले पैसा तिर्नुपर्छ।
गौरीगञ्ज गाउँपालिकाले बर्षेनि नदी ठेक्का लगाउने गरेको छ । यो वर्ष ३ लाख रूपैयाँमा ठेक्का लागेको हो । बर्खामा डुङ्गा सञ्चालन गर्ने र हिउँदमा बाँसको फट्के बनाउने गरिएको छ । हिउँदे वर्षाले दुईपटक फट्के बगाएर लगेकोले घाटा भएको ठेकदारको भनाइ छ ।
भद्रपुर विराटनगर जोड्ने हुलाकी राजमार्ग निर्माण भइसकेको छ । वाणिज्य व्यापार गर्न पुल नभएकै कारणले सम्भव भइरहको छैन । प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र भएकाले अब भने पुल बन्नेमा स्थानीय आशावादी छन् । नयाँ ठेक्का चाँडै लगाउनुपर्ने उनीहरूको माग छ ।
ठेक्का तोडिएसँगै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले, पुलको भौतिक अवस्थाको रिपोर्ट सडक विभागमा पठाएको जनाएको छ । पुलको बाँकी काम सम्पन्न गर्न ठेक्का लगाउने कि सुरूदेखि नै भन्ने विषयमा विज्ञको टिमले प्राविधिक जाँचपछि सरकारलाई परामर्श दिनेछ ।