हवाई इन्धनको भाउ दुई गुनाले बढ्दा ह्वात्तै घटे यात्रु

चैत्र २७, २०८२ |सुमन पन्थ
हवाई इन्धनको भाउ दुई गुनाले बढ्दा ह्वात्तै घटे यात्रु

काठमाडौं । पछिल्लो १५ दिनमै हवाई इन्धनमा भएको १०२ प्रतिशतको मूल्यवृद्धिले आन्तरिकतर्फको हवाई उडान कम्तिमा ३० प्रतिशतले घटेको छ । 

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दैनिक १२ हजारभन्दा धेरै यात्रु ओहोरदोहोर गर्ने गरेकोमा अहिले यात्रु संख्या मुस्किलले ८ हजार हाराहारी छ। इन्धनको मूल्य बढेकै कारण हवाई टिकटको मूल्यमा समेत वृद्धि भएपछि हवाइ मार्गबाट आवतजावत गर्ने यात्रुको संख्यामा गिरावट आएको हो। 

यसले उडान संख्या समेत घटेको वायु सेवा संचालकहरूले बताएका छन्। सधैं भरिभराउ जस्तै हुने काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक हवाई टर्मिनल हिजोआज सुनसान जस्तै छ । हवाई टिकट महंगिपछि यात्रुको संख्या दुई साताअघिको तुलनामा कम्तिमा ३० प्रतिशतले घटेको छ। 

हवाई इन्धन महंगो हुँदा आन्तरिकतर्फको हवाई भाडा अपर सिलिङमा ५५ प्रतिशतले बढेपछि यात्रुको संख्या घटेको हो। चैत १७ गते नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ बाट बढाएर २५१ रुपैयाँ पुर्याएपछि वायुसेवा प्रदायकहरुले न्यूनतम ४५ देखि ५५ प्रतिशतसम्म भाडा बढाएका हुन् । 

काठमाडौबाट धनगढीको टिकट चैत १५ गते अधिकतम ११ हजार ५०० थियो। जुन अहिले २३ हजार रुपैयाँ पुगेको छ । जसका कारण यात्रुको चाप घटेको हो । हवाई उडानको खर्चमा इन्धनको हिस्सा ४० प्रतिशत हुने हवाई सेवा प्रदायकहरुले बताएका छन् । 

चैत १७ मा प्रतिलिटर १२७ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अहिले २५७ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य बढेसँगै महंगो शुल्कमा टिकट काट्नुपर्ने भएपछि वायुसेवा प्रदायकहरुले आन्तरिकतर्फको उडान कटौती गर्न थालेका छन् । काठमाडौंबाट पोखराका लागि हुने दैनिक १० वटासम्म उडान कटौती भएका छन् । 

त्यस्तै काठमाडौंबाट भैरहवा, भद्रपुर र विराटनगरमा दैनिक ४ वटा उडान कटौती भएका छन् । इन्धनमा लगातारको मूल्यवृद्धिसँगै वायुसेवा प्रदायक कम्पनी पर्ख र हेरका अवस्थामा रहेका छन् । आन्तरिकतर्फ जस्तै अन्तर्राष्ट्रिय उडान पनि झन्डै २० देखि २५ प्रतिशतले प्रभावित भएका छ । 

अन्तराष्ट्रियतर्फ पहिले नै टिकट काटेका यात्रुलाई समस्या नभए पनि नयाँ टिकट लिनेका लागि भने औषत्‌मा ४० प्रतिशतसम्म महंगो परेको छ । नेपालबाट युरोप तथा अमेरिकाका लागि हुने उडान पश्चिम एसिया छलेर गर्नुपर्ने हुँदा नयाँ यात्रु समस्यामा पर्ने गरेका छन् ।

औषतमा ४० प्रतिशतसम्म टिकटको मूल्यवृद्धिले ट्रेकिङ सिजनका लागि आउने पर्यटकले भ्रमण स्थगन गरिरहेका छन् । एसियाली मुलुकबाट आउने पर्यटकमा त्यति धेरै फरक नपरे पनि युरोप, अमेरिका र क्यानडाबाट आउने पर्यटक भने घटेका छन् ।

खर्चालु पर्यटकको आवागमनमा भएको कमीले यहाँको हवाईदेखि होटल तथा पर्यटन व्यवसायसम्म नराम्ररी प्रभावित भएका छन् । हवाई मार्गबाट यात्रा गर्नेको संख्या घट्दा बसबाट यात्रा गर्नेको संख्यामा भने उल्लेखनीय वृद्धि भएको छैन। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले स्थलमार्गमा यात्रुहरुको संख्या सामान्य नै रहेको जनाएको छ। 

सरकारले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्दा बागमती र गण्डकी प्रदेशमा बाहेक सबै प्रदेशमा लामो तथा छोटो दूरीका सवारीको भाडासमेत उल्लेख्य वृद्धि भएको छ। दुई प्रदेशमा भने भाडा समायोजन हुन बाँकी छ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।