नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । 

एडीबीले एसियन डेभलपमेन्ट आउटलुकमार्फत आगामी वर्षको प्रक्षेपण सार्वजनिक गरेको हो । दुई दिनअघि विश्व बैंकले नेपालका लागि आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । एडीबीले त्यो भन्दा केही बढाएर प्रक्षेपण गरेको छ । नेपालका लागि एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले गत वर्षको नागरिक अशान्तिलगायत राजनीतिक अनिश्चितता एवं पश्चिम एसियामा जारी द्वन्द्वको प्रतिकूलताबीच आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने बताएका छन् ।

उहाँकाअनुसार राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउनेछ । यद्यपि, खासगरी पश्चिम एसियामा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै देखिनेछ । 

तथापि विद्यमान आघातहरू कमजोर भएसँगै आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन सुदृढ भएर आर्थिक वर्ष २०२७ मा कुल गार्हस्थ्य उत्पादन (जीडिपी) वृद्धिदर मजबुत भई ५ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.