
विराटनगर । प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गर्दा लक्ष्य महत्वाकांक्षी थियो।
पर्यटनमार्फत आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटन नक्सामा बलियो रूपमा स्थापित गर्नेजस्ता विषय समेटिँदा त्यहाँका पर्यटन व्यवसायी उत्साही थिए ।
'रमणीय कोशी' भन्ने नारासहित सुरू अभियानका लागि प्रदेश सरकारले ८२ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गर्यो, २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै चालु आर्थिक वर्षका लागि १० करोड रूपैयाँ बजेट छुट्यायो । तर, आर्थिक वर्षको नौ महिना बितिसक्दा पर्यटन वर्षको प्रभाव भने घोषणाभन्दा अघि बढ्नै सकेको छैन।
प्रदेश सरकारले बजेटमा 'कोशीको गौरव, हिमालको सानः पर्यटन वर्षमा सबैलाई सम्मान' भन्ने नारा समेट्दै पूर्वाधार निर्माण, गन्तव्य स्तरोन्नति, प्रचारप्रसार र पर्यटक आकर्षणका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। यिनै महत्वकांक्षी लक्ष्यसहित गतवर्ष चैत २७ गते प्रदेश सरकारले कोशी भ्रमण वर्ष घोषणा गर्यो। तर, सूचीमा राखिएका ८२ गन्तव्य मध्ये कतिमा काम सुरू भयो, कतिमा बजेट पुग्यो र कतिमा ठोस परिवर्तन देखियो भन्ने स्पष्ट विवरण सार्वजनिक भएको छैन ।
कचनाकवलदेखि सगरमाथासम्म फैलिएको पर्यटन सम्भावना बोकेको प्रदेशले केही प्रमुख गन्तव्यलाई प्राथमिकतामा राखे पनि धेरै ठाउँमा आधारभूत तयारीमै अलमल देखिएको छ। बराह क्षेत्रलगायत सुनसरीका धार्मिक गन्तव्य, हिले, तीनजुरे मिल्केलगायत धनकुटा-तेह्रथुमका पहाडी गन्तव्य, झापा मोरङका सीमावर्ती पर्यटकीय क्षेत्र तथा कञ्चनजंघा लगायतका हिमाली क्षेत्रका पदमार्गमा पूर्वाधार विस्तारको योजना कागजमा समेत बन्न सकेन ।
धेरै पर्यटकीय गन्तव्यमा सडक, संकेत बोर्ड, शौचालय, सूचना केन्द्र, सरसफाइजस्ता आधारभूत सुविधा अझै अधुरै छन् । पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्ने बताएको थियो। तर, धेरै स्थानीय तहलाई आफ्नो क्षेत्रमा के कार्यक्रम सञ्चालन गर्ने, कुन गन्तव्यलाई प्राथमिकता दिने र प्रदेशसँग कसरी समन्वय गर्ने भन्ने स्पष्ट कार्य योजना नपुगेको गुनासो छ ।
स्थानीयतह र प्रदेशबीच समन्वय कमजोर हुँदा सूचीमा परेका धेरै गन्तव्य कागजमै सीमित भएको सरोकारवालाहरू बताउँछन् । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि त्यस अनुसारको प्रचार गर्ने सकेन। छिमेकी देशलक्षित प्रचार, डिजिटल क्याम्पेन, अन्तर्राष्ट्रिय ट्राभल बजारसँग सहकार्य, एयर कनेक्टिभिटी विस्तार वाणिज्य क्षेत्रसँग संयुक्त पर्यटन प्याकेज निर्माणजस्ता काम स्पष्ट रूपमा देखिएका छैनन् ।
पर्यटन व्यवसायीहरूका अनुसार अहिले पनि अभियानको जानकारी प्रदेश भित्रै सीमित छ । नेपालकै होचो भनिएको भूभागदेखि विश्वकाअग्लाहिमालसम्मको विविधता बोकेको कोशी प्रदेशमा पर्यटन सम्भावना विशाल भए पनि त्यसलाई योजनाबद्ध रूपमा बजारमा लैजान प्रदेश सरकारले सक्दै सकेन।
अघिल्ला वर्षको तुलनामा अहिले कति पर्यटक थपिए, कुन देशबाट कति पर्यटक आए र लक्ष्यअनुसार प्रगति कति भयो भन्ने अद्यावधिक तथ्यांक समेत सार्वजनिक गरिएको छैन । सरकारले आर्थिक वर्षको सुरुवातमा जेन-जी आन्दोलनका कारण काम प्रभावित भएको तर्क गर्दै पछिल्ला महिनामा तयारी तीव्र बनाइएको दाबी गरेको छ । तर, नौ महिना बितिसक्दा पनि कार्यविधि ढिलो हुनु, बजेट खर्चको प्रत्यक्ष परिणाम नदेखिनु,जिल्ला स्तरमा कार्यक्रम नपुग्नुले सरकारी दाबीलाई पत्याउने आधार छैन ।
घोषणा ठूलो, लक्ष्य महत्वाकांक्षी, तर पर्यटन वर्ष सम्झाउने गरी प्रदेशले देखाउन सक्ने उपलब्धी झन्डै शून्य। यसले कोशी पर्यटन वर्ष औपचारिक घोषणामै सीमित भएको छ।