जमिन बाँझो नराख्न मुख्यमन्त्री आचार्यको आग्रह

चैत्र २४, २०८२ |अमर क्षितिज भण्डारी
जमिन बाँझो नराख्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ ।

सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा दाङको प्रगन्ना नहर सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै उहाँले राज्यले सिँचाइको व्यवस्थापन गर्ने बताउँदै किसानका समस्यामा प्रदेश सरकार साथमा रहेको स्पष्ट पार्नुभयो । उहाँले किसानका वास्तविक समस्या पहिचान भइसकेको र ती समाधानका लागि योजना बनाइरहेको जानकारी दिनुभएको हो ।

मुख्यमन्त्री आचार्यले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले तरकारी खेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको बताउनुभयो । 

सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उहाँले सबैलाई उत्पादनमुखी बन्न आग्रह गर्नुभयो । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिता शर्मा चौधरीले सिँचाइ सुविधा विस्तारमा सरकार दृढताका साथ अघि बढिरहेको बताउनुभयो । 

उहाँले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुग्न थालेको जानकारी दिनुभयो । प्रगन्ना सिँचाइ आयोजनामार्फत हाल ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।