बीपी राजमार्गमा बारम्बार बाढीको प्रहार : पुनर्निर्माण सुरू, यात्रा अझै जोखिमपूर्ण

चैत्र २३, २०८२ |पुजन धिताल
बीपी राजमार्गमा बारम्बार बाढीको प्रहार : पुनर्निर्माण सुरू, यात्रा अझै जोखिमपूर्ण

काभ्रेपलाञ्चोक । गतवर्ष २०८१ साल असोज १०, ११ र १२ गतेको अबिरल वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको झन्डै २२ किलोमिटर सडक बगायो। 

त्यसपछि अस्थायी मर्मतसम्भार गरी सञ्चालन हुँदै आएको यो राजमार्गमा २०८२ असोजमा आएको ठूलो बाढीले फेरि अस्थायी सडकसमेत बगाइदियो। त्यसयता रोशीको बगरबाटै अस्थायी बाटो बनाइएको छ। तर, सानो भेलबाढी आउँदासमेत बाटो क्षतविक्षत हुने हुनाले यात्रा जोखिमपूर्ण छ। 

अब भने सडक डिभिजन कार्यालय भक्तपुरमार्फत बीपी राजमार्गको यो खण्डको पुनःनिर्माण सुरू गरेको छ। सरकारले तीनवटा ठेक्कामार्फत काम सुरू गरिसकेको छ भने अब भने जापान सहयोग नियोग जाइकाले नै निर्माण गर्ने खण्डको कामका लागि ठेक्का निकाल्ने तयारी थालिएको छ।

यही चैत १३ गते काभ्रेको चौकीडाँडा नजिकै बीपी राजमार्गअन्तर्गत रोशी खोलाको बाढीमा फसेका ७ जनालाई सेना, सशत्र प्रहरी र नेपाल प्रहरीले स्काइभेटर लगाएर जोखिमपूर्ण तरिकाले उद्धार गर्नुपर्‍यो। सोही दिनको बाढीले एउटा गाडी र मोटरसाइकल बगायो। 

चैत १७ गते साँझ पनि वर्षा भएपछि रोशीको सतह बढ्नासाथ राजमार्गमा सवारी आवागमन बन्द गरियो। पछिल्लो डेढ वर्षयता बीपी राजमार्गको काभ्रे खण्डको यात्रामा यस्ता जोखिपूर्ण घटना दोहोरिइरहन्छन्। पटक-पटकको बाढीपहिरो क्षतविक्षत पारेको सडक सामान्य वर्षामा समेत अवरूद्ध हुँदा यात्रु र चालकले भोग्नुपर्ने सास्ती भनिसाध्य छैन। 

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण बीपी राजमार्गको काभ्रेदेखि सिन्धुलीसम्मको विभिन्न खण्ड नामोनिशान नमेटिने गरी २०८१ साल असोजको बाढीले बगाएको हो। खासगरी रोशी खोला क्षेत्रमा बाढीले धेरै भाग बगाउँदा हाल ठाउँठाउँमा डाइभर्सनमार्फत सवारी सञ्चालन गर्नुपरेको छ। 

अस्थायी रूपमा रोशीको किनारबाटै सडक बनाइएकाले बाढीले बारम्बार क्षति पुर्‍याउने गरेको हो। खाल्डाखुल्डीसम्म पुरिदिए पनि अलिक सहज हुन्थ्यो भन्ने आशा यात्रु र चालक दुवैको छ। तर, बगरैबगर बनाइएको अस्थायी बाटोमा यो प्रयास पनि निरर्थक देखिएको छ।

गत मङिसरदेखि भने यहाँ स्थायी सडक बनाउन काम भइरहेको छ। क्षतिग्रस्त चार खण्डमध्ये एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग-जाइकाले पुनर्निर्माण गर्नेछ। जाइकाले बनाउने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडकको ठेक्का यसै महिनाभित्र लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 

राजमार्गको काभ्रे र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि तीन खण्डमा एकैसाथ काम सुरू गरिएको हो। तीनवटा खण्डको करिब ८ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। 

यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना निर्माण गरी कालोपत्रे गर्ने योजना छ। बीपी राजमार्ग पूर्वको 'लाइफलाइन' सडक रहेकाले सवारी चाप अत्यधिक छ। 

क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने ट्रिपरका कारण सडकमा थप क्षति पुगिरहेको छ। दैनिक करिब तीन हजार सवारी गुड्ने यो राजमार्गमा १६ टनभन्दा बढी भार निषेध भए पनि २५ टनसम्मका गाडी चलिरहेका छन्। लक्ष्यअनुसार काम भए दुई वर्षभित्र यो सडकको पुनर्निर्माण सकिने छ तर त्यतिन्जेल भने यात्रुलाई सास्ती नै हुनेछ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।