
काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साेमबार ८३ अंकभन्दा बढीले बढेको छ ।
आइतबार एक सय ५ अंक घटेको शेयर मार्केट आज ८३ दशमलव ३३ अंकले बढेको हो । साेमबार ३ प्रतिशतभन्दा बढीको वृद्धिसँगै बजार परिसूचक नेप्से २७ सय ६० अंकमा पुगेको छ। कारोबार रकम भने आइतबारभन्दा केही घटेको छ । आइतबार १२ अर्ब ३८ करोडको कारोबार भएकोमा साेमबार १० अर्ब ९२ करोडको भयो ।
साेमबार सबै समूहका सूचक बढेका छन् । २ सय ६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४ दशमलव ५९ प्रतिशत बढ्यो । ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । आइतबार उच्च अंकले बजार घटेपछि साेमबार बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलिएको भन्दै आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शीताका लागि सरकारले काम गर्ने आश्वासन दिनुभएको थियो ।