
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्थाअनुसार तयार गरिने बताउनुभएको छ।
संसदीय बजेट कार्यालय सम्बन्धी सोमबारको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अघिल्लो वर्ष प्रयास गरेपनि प्राविधिक कारणले त्रुटि भएको भन्दै आगामी बजेट वास्तविकतामा आधारित हुने आयोजना र बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको बताउनुभयो।
कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताउनुभयो। त्यसैगरी बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शीता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन सुधार गर्ने जस्ता नीतिगत सुझाव पनि प्रस्तुत गरिएको छ।