रूपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थालेको झन्डै तीन वर्ष भयो । तर, नियमित उडान अझै हुन सकेको छैन ।
नियमित उडान गर्न नसकेर निकै आलोचित बनेपछि बल्ल विमानस्थ व्यवस्थापन समितिले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारेको छ । बौद्ध देशका पर्यटक सिधैं बुद्धजन्मस्थल लुम्बिनी ल्याउने र पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा करिब ३५ अर्ब रूपैयाँ लगानीमा बनेको यो विमानस्थल २०७९ जेठ २ मा उद्घाटन भयो । उद्घाटनकै दिन जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरे पनि तीन वर्ष बित्दासम्म यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान भइरहको छैन ।
आलोचना बढेपछि विमानस्थल व्यवस्थापनले आगामी हिउँदेदेखि अन्तर्राष्ट्रिय उडान नियमित र व्यवस्थित गर्न वायुसेवा कम्पनीहरूसँग समन्वय थालेको छ । त्यसका लागि विमानस्थलले 'फिथ फ्रिडम' उडान अवधारणा अघि सारेको छ । जसमा विदेशी वायुसेवा कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई ट्रान्जिट बनाउँदै तेस्रो मुलुकसम्म उडान भर्न सक्नेछन् ।
भैरहवा विमानस्थलमा चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ । यही सुविधा देखेर गत वर्षको असोज कात्तिकमा पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान थाले । तर, विमानस्थल सुरक्षा, यात्रु अभावलगायतका कारण देखाउँदै जजिरा, कतार, फ्लाइ दुबई र नेपाल एयरलायन्सले व्यावसायिक उडान रोके ।
अहिले यो विमानस्थलबाट थाई एयर एसियाको आइतबार र बुधबार भैरहवा बैंकक दुई वटामात्र उडान हुन्छ । त्यसमा पनि समन्वय नहुँदा यात्रु घट्दै गएका छन् । पछिल्लो समय यहाँबाट चार्टर उडान हुन थालेको छ । कुवेतबाट डिपोर्ट भएका नेपालीलाई यही विमानस्थलबाट चैत १८ गते स्वदेश ल्याइयो । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेका व्यवसायीहरू चार्टर उडान नभइ नियमित उडानमै सरकारले ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।
उसो त, यो विमानस्थलबाट नियमित उडान थाल्न नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा 'बेस' राख्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक कर्मचारी र संरचना पहिल्यैदेखि छन् । राज्यको यतिधेरै लगानी खेर गइरहँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर र सिजनल उडान होइन नियमित उडान थाल्न दीर्घकालीन रणनीति बनाउन जरूरी देखिएको छ ।