हेटौंडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरू

चैत्र १८, २०८२ |बालकृष्ण अधिकारी
हेटौंडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरू

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी बुधबारदेखि फेरि उत्पादन सुरू भएको छ ।

उद्योगले यही चैत १४ गते करिब सात महिनापछि सिमेन्ट उत्पादन सुरू गरेको थियो । त्यसको भोलिपल्टै आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएपछि उत्पादन बन्द गर्नुपरेको थियो । उद्योगको भट्टीमा गएराति कोइला बालेर बुधबारदेखि क्लिङ्कर उत्पादन कार्य सुरू गरिएको जनाइएको छ । 

उद्योगमा सिमेन्ट उत्पादन नियमित गर्न आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको छ । बाँकी आवश्यक कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको हेटौंडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोइला खरिद गर्न आर्थिक अभाव भएका कारण पटक–पटक उत्पादनमा अवरोध आएको हो । उद्योगको साविक उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि उपकरण जीर्ण हुँदा हाल दैनिक ११ हजार बोरा मात्रै उत्पादन भइरहेको छ ।

उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौं, नेपालगञ्ज, पोखरा, हेटौंडा, वीरगन्जलगायत सहरमा बिक्रीवितरण हुँदै आएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।