लुम्बिनी विकासमा विश्व बैंकको १२ अर्ब बढी ऋण, सदुपयोगमा चुनौती

चैत्र १८, २०८२ |मनोज पौडेल
लुम्बिनी विकासमा विश्व बैंकको १२ अर्ब बढी ऋण, सदुपयोगमा चुनौती

रूपन्देही । स्थानीयलाई आयआर्जनसँग जोड्दै बृहत्तर लुम्बिनी क्षेत्रलाई अध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विश्व बैंकले साढे १२ अर्ब भन्दाबढी ऋण सहयोग गरेको छ । 

मुलुकमा सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने गन्तव्य लुम्बिनीमा राजनीतिक हस्तक्षेप धरै छ । स्वार्थको द्वन्द्व झेलिरहेको कोषले ठूलो रकमको सदुपयोग कसरी गर्छ भन्ने प्रश्न उठेको छ । बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि विश्व बैंकले ८५ मिलियन डलर अर्थात् करिब साढे १२ अर्ब ६६ लाख ऋण दिने निर्णय गरेको छ। 

विश्व बैंकबाट सो सहयोगको औपचारिक जानकारीसमेत आइसकेको कोषले जनाएको छ। पाँच वर्षको यो परियोजना लुम्बिनीले सहयोग पाएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो। यो रकमले भगवान गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थल रहेका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा काम गरिनेछ।

सरकारले केही कानुनी प्रक्रिया पूरा गरेर कार्यान्वयनमा जाने बताइएको छ। मुख्यतया परियोजनाअन्तर्गत चार ठाउँमा काम गरिन्छ । बुद्ध जन्मस्थल क्षेत्रको सर्केट गार्डेन क्षेत्र, कपिलवस्तुको शाक्य वंशिय राजधानी तिलौराकोट -प्राचीन कपिलवस्तु, पश्चिम नवलपरासीको बुद्धको अस्तुधातु रहेको रामग्राम र रूपन्देहीको देवदहमा काम गरिनेछ। 

त्यस्तै लुम्बिनीमै रहेको लुम्बिनी म्युजियम पनि काम गर्ने मुख्य ठाउँ हुनेछ । पूर्वाधार सुधार र गन्तव्य विकास, गन्तव्य योजना र परिकल्पना तथा स्थानीय आर्थिक विकास र निजी क्षेत्रको संलग्नतालाई सहयोग पुग्ने गरी कार्ययोजना बनाएर काम गरिने कोषले जनाएको छ। 

परियोजनाअन्तर्गत लुम्बिनी पवित्र उद्यानभित्र आउने तीर्थयात्री र पर्यटकलाई शौचालय सुविधा, धुप बत्ती बाल्ने स्थान निर्माण, जुत्ताचप्पल व्यवस्थापन गर्ने ठाउँ बनाउने र मायादेवी मन्दिर परिसरको सौन्दर्यीकरण गरिने बताइएको छ। तिलौराकोट, रामग्राम र देवदहमा राम्रो भिजिटर सेन्टर, संरक्षणमैत्री बसपार्क, पार्किङ स्थल र बाटोघाटो बनाइने छ। 

त्यस्तै ऐतिहासिक तथा पुरातात्विक स्थल घुम्न वाक वे, शौचालय, डिजिटल बोर्ड र ट्रान्जिवल साइनेजहरू बनाइने छ। त्यस्तै खानेपानी, सरसफाई र ढल निकासका काम पनि गरिनेछ। त्यस्तै बुद्धसँग सम्बन्धित स्थलका सडक स्तरोन्नति र सञ्जालीकरणबाट पनि जोडिने छ।

८५ मिलियिन डलरमध्ये बृहत्तर लुम्बिनी विकासका काममा ४५ मिलियन डलर छुट्याइएको छ। यसमध्ये सर्केट गार्डेनलाई १५ मिलियिन र लुम्बिनी म्युजिमलाई १५ मिलियन छुटयाइएको छ। त्यस्तै तिलौराकोट, देवदह र रामग्रामलाई ५-५ मिलियन डलर छु्ट्याइएको छ। 

बाँकी ४० मिलियन डलरमा तीन जिल्लाका ४ नगरपालिका र सहरी विकास मन्त्रालयले बृहत्तर लुम्बिनी क्षेत्रमा सडक सञ्जाल, रोजगारी, आयआर्जन र अध्यात्मिक पर्यटनको विकासमा खर्च हुनेछ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।