चैत १९ मा संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
चैत १९ मा संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनु भयो । बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने र संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

चैत्र १९ गते बिहीबारका दिन अपराह्न २ बजे संघीय संसद् भवन सिंहदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनु भयो ।

प्रवक्ता पोखरेलकाअनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू रहनेछन् । उक्त समितिले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका लागि बहस पत्र तयार गर्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.