हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष भण्डारीले दिए राजीनामा

चैत्र १५, २०८२ |बालकृष्ण अधिकारी
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष भण्डारीले दिए राजीनामा

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । 

उहाँले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो । २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँले तीन वर्षका लागि नियुक्ति लिनुभएको थियो । परिवर्तित राजनीतिक परिस्थितिलाई मुख्य कारण देखाउँदै भण्डारीले राजीनामा दिनुभएको हो ।

राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गर्नुभएको छ । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष भण्डारीले राजीनामा पत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालु खर्च व्यवस्थापनका लागि पटक पटक ऋण तथा अनुदानका लागि अनुरोध गरे तापनि मन्त्रालयले कुनै ठोस पहल नलिएको उहाँको गुनासो थियो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।