भारत र बंगलादेशबाट कच्चा जुट आयात रोकिएपछि सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योग संकटमा

चैत्र १, २०८२ |अर्जुन सुवेदी
भारत र बंगलादेशबाट कच्चा जुट आयात रोकिएपछि सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योग संकटमा

सुनसरी । भारत र बंगलादेशबाट कच्चा जुट आयात रोकिएपछि सुनसरी-मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग संकटमा परेका छन् । 

एक चरणको प्रशोधनपछि मात्र निर्यात गर्ने बंगलादेशको नीतिका कारण कच्चा जुटको आयात रोकिएको हो । नेपालमा कच्चा जुट र जुटका तयारी वस्तु आयातमा मूल्य अभिवृद्धि कर लाग्दैन । तर, एक चरणको प्रशोधनपछिको जुटको रोल र धागोमा मूल्य अभिवृद्धि कर लगाउने संघीय सरकारको नीतिका कारण र कच्चा पदार्थको अभावले यहाँ सञ्चालित उद्योगहरूले उत्पादन कटौती गरेका छन् ।

नेपालमा सञ्चालित जुट उद्योगका लागि आवश्यक अधिकांश कच्चा पदार्थ बंगलादेश र भारतबाट आयात हुने गरेको छ । तर, गत असोजदेखि बंगलादेशले कच्चा जुट निर्यातमा निश्चित शर्त तोकेर रोकेपछि जुट उद्योग संकटमा परेका हुन् । बंगलादेशमा जुटको तीव्र माग भएसँगै उत्पादन पनि घट्दा उसले कच्चा जुट निर्यात नगर्न प्रक्रिया झन्झटिलो बनाएको जुट उद्योगीहरूको गुनासो छ ।

नेपालमा उत्पादित जुटले यहाँका उद्योगको २० देखि २५ प्रतिशत माग मात्र धान्दै आएको छ । बााकी जुट भारत र बंगलादेशबाट आयात हुने गरेको छ । सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा अहिले ६ वटा उद्योग सञ्चालनमा छन् । ती उद्योगलाई वार्षिक रूपमा करिब ६५ हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्दछ । 

यसमध्ये करिब ६० प्रतिशत बंगलादेशबाट र करिब १५ प्रतिशत भारतबाट आयात गरिन्छ । जुट उद्योगको यो संकट केवल आपूर्ति अवरोधको परीणाम मात्र होइन, नेपालका जुट उद्योगमा रहेको संरचनात्मक कमजोरीको प्रतिविम्ब पनि हो । पर्याप्त कच्चा जुट उत्पादन गर्ने दीर्घकालीन कृषि नीति नहुनु, किसानलाई आकर्षित गर्ने व्यवस्था नबन्नु र प्रशोधन पूर्वाधार कमजोर हुनु यसका प्रमुख कारण मानिएका छन् । 

तराईका केही जिल्लामा जुट खेती भए पनि उत्पादन लागत र बजार सुनिश्चित नहुँदा किसानहरू अन्य बालीतर्फ आकर्षित हुँदै गएका छन् । यसले उद्योग र कृषि क्षेत्रबीचको सम्बन्ध झनै कमजोर बनाएको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।