मन्त्रीहरूको सेयर लगानीमा प्रश्न : स्रोत नखुल्दा छानबिनको माग

चैत्र ३०, २०८२ |सुदिल पोखरेल
मन्त्रीहरूको सेयर लगानीमा प्रश्न : स्रोत नखुल्दा छानबिनको माग

काठमाडौं । १६ सदस्यीय मन्त्रीपरिषद्‌मा प्रधानमन्त्री र अन्य दुई मन्त्रीबाहेक सबैको विभिन्न कम्पनीमा सेयर लगानी रहेको देखिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूको हाइड्रोपावर र वित्तीय संस्थाहरूमा सेयर तथा लगानी रहेको देखिएको हो । तर, केही मन्त्रीहरूले भने सेयरमा लगानीको स्रोत नै खुलाएका छैनन् । 

यसरी स्रोत नखुलेको सम्पत्तिमा आवश्यक अनुसन्धान हुनुपर्ने विज्ञहरूको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सुन, घरजग्गा र सेयरमा लगानी रहेको देखिएको छ । 

उनीहरूले विभिन्न कम्पनीहरूमा प्रवर्धक तथा सर्वसाधारण लगानीकर्ताका रूपमा सेयर खरिद गरेको देखिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह पत्नीसँग १ सय ९० तोला गरगहना भए पनि प्रधानमन्त्रीको परिवारको सेयरमा लगानी देखिँदैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पनि सेयरमा लगानी नभएको देखाएका छन् । 

यीबाहेक १३ मन्त्रीहरूको सेयरमा लगानी छ । अर्थमन्त्री स्वर्णिम वाग्ले सानिमा मिडल तमोर र सांग्रीला विकास बैंकमा प्रमोटर लगानीकर्ताको रूपमा रहेको उल्लेख छ । यसबाहेक नेसनल फन्ड म्यानेजमेन्ट, ठूलो खोला र अपर मादीखोलामा पनि लगानी छ । 

जसमा स्रोतको रूपमा निजी आवास बिक्रीदेखि २०८४ सम्म अन्य कम्पनीको सेयर बेचेर लगानी गर्ने सर्तमा लिएको उल्लेख छ । परराष्ट्रमन्त्री शिशिर खनालको ९ कम्पनीमा आफ्नै लगानी तथा श्रीमती अच्युता अधिकारीको नाममा १४ कम्पनीको सेयर रहेको उल्लेख भए पनि स्रोत खुलाइएको छैन । 

यसरी स्रोत नखुलाएका सेयर लगानीमा भने उजुरी परे सरकारी निकायले अनुसन्धान गर्नुपर्ने विज्ञ बताउँछन् । स्रोत उल्लेख गरेका मात्रै नभइ स्रोतप्रति विश्वास नलागी कसैले उजुरी गरेमा पनि राज्यले अनुसन्धान गर्नुपर्छ । गृहमन्त्री सुधन गुरूङको नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने विभिन्न कम्पनीमा २ करोड ७४ लाख ५६ हजार २ सय रूपैयाँ बराबरको सेयर रहेको उल्लेख छ । 

यस्तो सेयरमा गरेको लगानीको स्रोतको रूपमा व्यवसाय र पैतृक सम्पत्तिलाई देखाइएको छ । योबाहेक होप होल्डिङ्समा ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख र एडभेन्चर भिल्लामा ७० लाख लगानी भएको देखाइएको छ । विज्ञले उल्लेख भएको स्रोतमा कसैले शंका लागे उजुरी गर्न सक्ने र त्यसमा राज्यले अनुसन्धान गर्नुपर्ने बताउँछन् ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको पनि विभिन्न कम्पनीमा २० हजार ९ सय ७८ कित्ता अर्थात् १ करोड ४५ लाख ४८ हजार ४ सय २० रूपैयााको सेयर रहेको र स्वआर्जन गरेको उल्लेख छ । त्यस्तै स्वास्थ्य जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको चारवटा कम्पनीको सेयरमा लगानी भएको र यसको स्रोतको रूपमा तलब उल्लेख गरिएको छ । 

उद्योगमन्त्री गौरी यादवले श्रीमान तथा आफ्नो नाममा गरी ३ करेाड ३८ लाख रकम बराबरको सेयर रहेको उल्लेख गरे पनि स्रोत खुलाइएको छैन । मन्त्रीहरूले सेयर, जग्गा तथा सुनमा गरेको लगानी र यसको स्रोतको विषयमा सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् । 

स्रोत उल्लेख नगरेकादेखि विश्वासिलो स्रोत पेस गर्न नसकेका विवरणमाथि सम्बन्धित निकायको चासो रहनुपर्ने विज्ञहरूको भनाइ छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।