
काठमाडौं । जापानको टोकियोमा सम्पन्न नेपाल-जापान रोजगार सम्मेलनमा जापानी रोजगारदाता नेपालमा लगानी गर्न इच्छुक भएका छन् ।
दोस्रो नेपाल-जापान रोजगार सम्मेलनमा सहभागी जापानी रोजगारदाताले नेपालबाट छिटो र पारदर्शी रूपमा श्रमिक ल्याउन चाहेको बताएका हुन् । दक्षिण एसियाली मुलुकहरूमा नेपाली श्रमिक इमान्दार र परिश्रमी रहेकाले संस्थागत पहलबाटै ल्याउन खोजेको जापानको रोजगारदाता संघका निर्देशक तेत्सुहितो सुगिमुराले जानकारी दिनुभयो ।
सीप हासिल गरेका युवालाई जापानी बजारमा भित्र्याउन सरकारी तहबाट सहजीकरण खोजेको उनीहरूको भनाइ छ । यता नेपालका रोजगार व्यवसायीले पनि जापानी रोजगारदाताले नेपाली श्रमिक ल्याउन देखाएको चासोप्रति उत्साहित भएको बताएका छन् ।
जापानले अहिले १९ वटा विधामा विदेशी श्रमिक आपूर्ति गरिरहेको छ । तर, नेपाललाई केयर गिभर, कृषि, निर्माण, सेवासहितका आठवटा बिधामा मात्र श्रमिक आपूर्ति गर्न दिइरहेको छ । जापानमा करिब ३ लाख नेपाली छन् । यसैबीच जापानका नवनियुक्त कानुनमन्त्री हिरोसी हिरागुजीले कामका लागि आउने श्रमिकका लागि सबै किसिमका सहयोग गर्ने तयार रहेको बताउनु भएको छ ।
श्रम मन्त्रालयका सचिव दिपककुमार काफ्ले तथा नेपाली दूतावासका अधिकारीहरूसँगको भेटमा मन्त्री हिरोसीले नेपाली कामदारले कुनै कानुनी समस्या झेल्नु नपर्ने बताउनु भयो । भर्ना प्रक्रिया पारदर्शी बनाउन र इच्छुक नेपाली श्रमिकलाई जापानीसरह सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।