.png&w=1000&height=550)
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको 'एक स्थानीय तह, एक कृषि उत्पादन' कार्यक्रमअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र विस्तार गरिएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले कृषकलाई उत्पादन, सिँचाइ, क्षमता अभिवृद्धि र बजारीकरणमा सहयोग गर्दै व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको 'एक स्थानीय तह, एक कृषि उत्पादन' कार्यक्रमअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमको उद्देश्य स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्नु हो ।
कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृष्णपुर नगरपालिकाका ४० वटा समूह, सहकारी तथा व्यावसायिक कृषकहरूलाई छनाेट गरेको छ । छनाेटमा पर्नु भएका कृषकहरूलाई उत्पादन सामग्रीमा सहयोग, सिँचाइ सुविधामा सहयोग, क्षमता अभिवृद्धि तथा बजारीकरणमा सहयोग गर्दै आएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आवश्यक यन्त्र उपकरण तथा कृषि सामग्री वितरण गरेको छ । यसले उत्पादन लागत घटाउन र समयमै खेती कार्य सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कम क्षेत्रफलमा तथा परम्परागत रूपमा आत्मउपभोगमा सीमित तरकारी खेती गर्दै आउनु भएका कृष्णपुरका कृषकहरू अहिले बजारलक्षित उत्पादनतर्फ उन्मुख हुनु भएको छ ।
कार्यक्रम लागू भएसँगै तरकारी खेतीको क्षेत्र विस्तार हुनुका साथै उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले उत्पादन अभिवृद्धि गर्न कृषकहरूलाई आवश्यक पर्ने यन्त्र उपकरणदेखि प्रविधि, तालिम तथा प्राविधिक परामर्शसम्म निरन्तर सहयोग गर्दै आएको छ ।
यसले कृषकको श्रम घटाउनुका साथै खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुगेको छ । कार्यक्रमले कृषकहरूलाई समूह र सहकारीमार्फत संगठित गर्दै सहकार्यको संस्कार विकास गर्न पनि मद्दत गरेको छ । यसले ज्ञान आदानप्रदान, अनुभव साटासाट र सामूहिक बजारीकरणलाई सहज बनाएको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरले समेत तरकारी पकेट क्षेत्रको विकासलाई सकारात्मक रूपमा हेरेको छ । स्थानीय तह विशेष यस्ता कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुर्याइरहेका छन् । यसले वैदेशिक रोजगारीतर्फको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एक स्थानीय तह, एक कृषि उत्पादन कार्यक्रमअन्तर्गत कृष्णपुरमा सञ्चालन भइरहेको तरकारी पकेट क्षेत्रले स्थानीय उत्पादन, आम्दानी वृद्धि र आर्थिक सशक्तिकरणतर्फ महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रमको निरन्तरतासँगै कृष्णपुर तरकारी उत्पादनको पहिचान बनाउने दिशामा अगाडि बढिरहेको छ ।