स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ : अर्थमन्त्री खनाल

माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताउनुभएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भूवनबहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनःसञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताउनु भयो । 

उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न समेत उल्लेख्य बजेट आवश्यक परेको उल्लेख गर्नुभयो । चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजन हुँदा कतिपय आयोजनाको दायित्व सिर्जना भई भुक्तानी गर्न नसकिएको अवस्था रहेकाले पनि कतिपय योजनाको बजेट स्थगन गर्न परेको उहाँको भनाइ छ । 

उहाँले तयारी नै नभएका, खरिद प्रक्रियामा नगएका, साना तथा टुक्रे आयोजना जसले तत्काल समष्टिगत अर्थतन्त्रमा लाभ दिन नसक्ने देखिएका आयोजनालाई स्थगन मात्रै गरिएको उहाँले स्पष्ट पार्नुभयो । डिजाइन तथा स्टिमेट पूरा भइसकेका, टेन्डर प्रक्रियामा गएका वा क्रमागत आयोजना तथा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको उहाँले बताउनु भयो । 

उहाँकाअनुसार सोही व्यवस्थाअनुसार हाल धेरै आयोजनाको रकम फुकुवा भई कार्यान्वयन सुरू हुने क्रममा रहेका छन् भने केही आयोजना सुरू भइसकेका छन् । अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गरेर आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार गरिएको उहाँले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.