चुनावमा चलायमान बजार : तीन सातामै बाहिरियो ३ अर्ब ३० करोड

माघ २०, २०८२ |सुदिल पोखरेल
चुनावमा चलायमान बजार : तीन सातामै बाहिरियो ३ अर्ब ३० करोड

काठमाडौै । चुनाव नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाबाट पैसा बाहिरिन सुरु गरेको छ । उम्मेदवारहरु चुनावी प्रचार र घरदैलोमा जुटेपछि माघको तीन सातामा मात्रै बैंकबाट तीन अर्ब ३० करोड रुपैयाँ बाहिरिएको छ । बैंकबाट पैसा बाहिरिएको मात्रै होइन, पछिल्लो समय बैंकमा पैसा जम्मा हुने क्रम पनि घटेको छ । 

विज्ञहरु भने चुनावका बेलामा बाहिरिने यस्तो रकमले छोटो समयका लागि अर्थतन्त्र चलायमान गराए पनि दीर्घकालीन लाभ भने दिन नसक्ने बताउँछन् ।

फागुन २१ को चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलोसँगै डिजिटल प्रचारलाई समेत तीब्र बनाएका छन् । नेता–कार्यकर्ता निर्वाचन क्षेत्रमा पुगिसकेकाले होटल तथा यातायात क्षेत्रमा समेत चहलपहल देखिन थालेको छ । यही बेला बैंकबाट रकम झिक्ने क्रम पनि बढेको छ । 

गत पुसमा बैंकमा ३ अर्ब ८० करोड रकम जम्मा भएकोमा २ अर्ब २ करोड बाहिरिएको थियो । तर माघका १९ दिनमा ८० करोडमात्रै जम्मा भएको छ भने ३ अर्ब ३० करोड बाहिरिएको छ । पुसमा बाहिरिएको भन्दा यो महिनाको १० दिनमै १ अर्ब २८ करोड बाहिरिएको छ । दशैं तथा तिहारसँगै चुनावका बेला बैंकबाट ठूलो परीणाममा पैसा बाहिरिने गरेको राष्ट्र बैंक बताउँछ ।

अहिले बजारमा ७ खर्ब ६५ अर्ब बराबरको रकम चलनचल्तीमा छ, जुन गत दशैंमा ८ खर्ब हाराहारीमा थियो । चुनाव लागेसँगै बजारमा पैसा बाहिरिने क्रम बढ्दा चलनचल्तीको यस्तो रकम ८ खर्ब हाराहारीमा पुग्नसक्ने राष्ट्र बैंकका अधिकारीहरुको आकलन छ । दशैंमा भन्दा चुनावका बेला कम रकम बाहिरिने गरेको भए पनि यसले अर्थतन्त्र भने चलायमान बनाएको विगतको अनुभव छ । 

२०७९ को चुनावमा ६ खर्ब ६० अर्ब रकम प्रचलनमा रहेकोमा सोही वर्षको दशैंमा ६ खर्ब ६३ अर्ब रकम बजारमा थियो । तर, चुनावका बेलामा बाहिरिने रकमले छोटो समयका लागि अर्थतन्त्र चलायमान बनाए पनि दीगो भने नहुने विज्ञ बताउँछन् । पछिल्ला वर्षमा नेताहरुले कुनै व्यावसायिक घरानामार्फत् गरेको लगानीबाट चुनावमा रकम प्रयोग गर्ने गरेको बिज्ञ बताउँछन् ।

चुनावमा ३४ सय ९० उम्मेदवार प्रतिष्पर्धामा छन् भने उनीहरुलाई चुनावका समयमा भूगोलका आधारमा ३३ लाखसम्म खर्च गर्ने अनुमति दिइएको छ । अहिले नै चुनावका लागि अर्थ मन्त्रालयले १९ अर्ब रकम निकासा गरिसकेको छ । यसरी चुनावमा बाहिरिएको पैसाले छोटो समयका लागि उपभोग बढाउँदै अर्थतन्त्र चलायमान गराए पनि दिगो बनाउन भने त्यसपछि आएको सरकारको नीति र कार्यशैलीमा भरपर्नेछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।