
काठमाडौै । फागुन २१ गते हुने मतदानका लागि हिमाली क्षेत्रमा मौसमले असर गर्नसक्ने अड्कलबाजी भैरहँदा फेरि हिमपात भए १७ जिल्ला प्रभावित हुनेछन् । डोल्पामा मात्रै ३७ वटा मतदन केन्द्रमा असर पर्ने देखिएको छ ।
अहिले पनि माथिल्लो डोल्पाका छार्का ताङ्गसोङ्गका ६, डोल्पो बुद्धका ६, शे फोक्सुन्डोका ११ र काईके गाउँपालिकाका ७ तथा ठूलीभेरीका ५ र त्रिपुरासुन्दरी नगरपालिकाका २ गरी ३७ वटा मतदान केन्द्रमा अहिले पनि हिउँ जमेको छ । मतदानका बेला फेरि हिमपात भएमा डोल्पा जिल्लाभर असर पर्नसक्ने स्थानीय बासिन्दाको पनि अनुमान छ ।
हुम्लाको निर्वाचन कार्यालयले भने हालसम्म फागुन २१ कै लागि तयारी भइरहेको भन्दै सार्ने विषयमा नसोचिएको जनाएको छ । हुम्लामा पनि माथिल्लो क्षेत्र अहिले पनि हिमपातले प्रभावित छन् ।
यता ताप्लेजुङमा पनि फागुन २१ आसपास हिमपात भएमा चारवटा मतदान केन्द्र प्रभावित हुने देखिएको छ। फक्ताङलुङका- ६, लेलेपको घुन्सा, ग्याब्ला, फक्ताङलुङ- ७ को ओलाङचुङगोला र याङमास्थित मतदान केन्द्र प्रभावित हुनेन् ।
याङमामा ६१, ओलाङचुङगोलामा २ सय ७६ र घुन्सामा १ सय ११ मतदाता छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा याङमामा १३, ओलाङचुङगोलामा ९६ मत झरेको थियो ।
त्यसबाहेक जुम्ला,मनाङ, मुस्ताङ, सोलु लगायतका जिल्लामा पनि हिमपात र चिसो बढ्दा मतदान प्रभावित हुनसक्छ । उच्च हिमाली क्षेत्रका बासिन्दा अहिले पनि जाडो छल्न बेसी र शहरी क्षेत्रमा झरेका छन् ।