चारदशक लामो प्रतिक्षापछि कर्णालीमा पुग्यो १ सय ३२ केभीए विद्युत प्रसारण लाइन

दीगो आपूर्ति हुने भएपछि कर्णालीबासी खुसी
माघ १९, २०८२ |कमल पन्त|देव राना
चारदशक लामो प्रतिक्षापछि कर्णालीमा पुग्यो १ सय ३२ केभीए विद्युत प्रसारण लाइन

सुर्खेत । चार दशक लामो प्रतीक्षापछि कर्णालीमा १ सय ३२ केभीए विद्युत प्रसारण लाइन पुगेको छ । 

शुक्रबारदेखि कर्णालीमा १ सय ३२ केभीए विद्युत प्रसारणलाइन पुगेको हो । परीक्षण प्रसारणपछि आइतबारदेखि विद्युत सेवाग्राहीले उपभोग गर्न पाउने भएका छन् । अबदेखि कर्णालीबासीले पनि उच्च भोल्टेजसहितको भरपर्दो विद्युत सेवा प्रयोग गर्न पाउने भएका छन् । 

बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभीए विद्युत प्रसारण लाइन निर्माण कार्य सकिएसँगै कर्णालीवासीले भरपर्दो विद्युत सेवा प्रयोग गर्न पाउने भएका हुन् । निर्माण थालिएको करिब ६ वर्षपछि कर्णालीमा शुक्रबारदेखि १३२ केभीए विद्युत प्रसारणलाइन पुगेको छ । निर्माण सम्पन्न गरेर परीक्षण प्रसारण सुरु गरेको आयोजनाले छिट्टै नियमित विद्युत वितरण गर्ने जनाएको छ ।

कर्णालीमा १३२ केभीए विद्युत पुर्‍याउने लक्ष्यअनुसार पहिलो चरणअन्तर्गत कोहलपुरदेखि सुर्खेतसम्मको काम सम्पन्न भएको छ । अब दोस्रो चरणमा सुर्खेतदेखि दैलेखसम्म र तेस्रो चरणमा दैलेखदेखि जुम्लासम्म १३२ केभीए विद्यतु पुर्‍याउने आयोजनाले जनाएको छ ।

२०७६ सालदेखि सुरु भएको आयोजनामा बाँके, बर्दिया र सुर्खेतका प्रभावित स्थानीयले गरेको पटक-पटक अवरोध गरेका थिए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको भूगोलका कारण पनि आयोजना निर्माणमा कठिनाइ भएको थियो । भौगोलिक र प्राविधिक कठिनाइका बाबजुद १३२ केभीए विद्युतलाइन पुगेपछि कर्णालीका उद्योगी व्यवसायी खुसी भएका छन् । 

उच्च क्षमताको विद्युत पुगेसँगै ठूलो उद्योग कलकारखाना सञ्चालन गर्न सहज हुने उद्योगी अपेक्षा छ । हाल कर्णालीमा २०४५ सालअघि निर्माण गरिएको ३२ केभीए विद्युत प्रसारण लाइन छ । जसका कारण लो-भोल्टेजसँगै जीर्ण विद्युत प्रसारण लाइनका कारण हावाहुरी चल्नेबितिकै सेवा अवरूद्ध हुने समस्या छ । १३२ केभीए विद्युत पुगेपछि यो समस्याबाट मुक्ति मिल्ने आशा छ ।

कर्णालीमा १३२ केभीए विद्युत पुर्‍याउन बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका १३ हजार ५६ वटा रूख काटिएका थिए । करिब ५२ किलोमिटर दूरीको आयोजनामा १ सय ६५ विद्युतका ठूला टावर बनेका छन् । दुई वर्षभित्र सक्ने लक्ष्यसहित २०७७ असारमा ७० करोड रूपैयाँमा ठेक्का लिएको भारतीय आरएस इन्फाप्रोजेक्टले झन्डै चार वर्ष ढिला गरेर आयोजना निर्माण सम्पन्न गरेको हो ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।