
काठमाडौै । विगतका निर्वाचनहरूको तुलनामा यसपटक राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने खर्चको प्रवृत्ति व्यापक बदलिएको छ । उम्मेदवारहरू भौतिक सँगसँगै भर्चुअल प्रचारलाई पनि उत्तिकै महत्त्व दिइरहेका छन् । उनीहरू घरदैलो त गरिरहेका छन् तर सँगसँगै सामाजिक सञ्जालमार्फत मतदाताका मोबाइलसम्म पनि पुगिरहेका छन् । अब उम्मेदवारका खर्च रुपैयाँमा मात्र होइन डलरमा हुन थालेको छ ।
फेसबुक स्क्रोल गरिरहँदा तपाईंले लाइक नै नगरेको, फलो नै नगरेको पेजका सामग्रीहरू पनि न्युजफिडसम्म आइरहेको ख्याल गर्नुभएको छ ? विशेषगरी राजनीतिक दल तथा उम्मेदवारका चुनाव प्रचार सामग्री तपाईंको मोबाइलसम्मै आइपुग्छन् र ध्यान बटुल्छन् । यो प्रक्रिया चुनावको डिजिटल क्याम्पेनअन्तर्गत पर्दछ ।
सामाजिक सञ्जालमार्फत हुने डिजिटल चुनावी क्याम्पेन मुख्यतः फेसबुक बुस्टिङमा केन्द्रित छ । अर्थात् राजनीतिक दल तथा उम्मेदवारहरूले फेसबुकको माउ कम्पनी मेटालाई निश्चित डलर तिरेर आफ्ना प्रचार सामग्री लक्षित मतदातासमक्ष पुर्याइरहेका छन् ।
यस्तो गर्नेमा अग्रपङ्क्तिमा छ- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी । मेटा एड्स लाइब्रेरीको पछिल्ला ३ महिनाको तथ्यांक हेर्ने हो भने उनेपाले ३ वटा सामाजिक सञ्जाल खातामार्फत डलर तिरेर चुनाव प्रचार गरिरहेको छ । उज्यालो पार्टी नेपाल, उज्यालो नेपाल अफिसियल र राष्ट्रिय परिवर्तन पार्टि नामका ३ वटा खाताबाट २ हजार ८ सय अमेरिकी डलरभन्दा बढीको विज्ञापन भएको देखिन्छ । यो भनेको आजको विनिमय दरअनुसार ४ लाख ११ हजार रुपैयाँभन्दा बढी हो ।
यस्तै गतिशील लोकतान्त्रिक पार्टीले पनि करिब १३ सय डलरभन्दा बढी तिरेर फेसबुक बुस्टिङ गरिरहेको छ । जुन करिब १ लाख ९१ हजार नेपाली रुपैयाँ हुन आउँछ ।
यी त भए पार्टीका कुरा, उम्मेदवारहरूले पनि डलर खर्चेर व्यक्तिगत चुनावी अभियान सञ्चालन गरिरहेका छन् । मेडा एड्स लाइब्रेरीको तथ्यांकअनुसार बढी डलर खर्चेर चुनाव प्रचार गर्ने उज्यालो नेपाल पार्टीका उम्मेदवार श्री गुरुङ पर्छन् । गुरुङले ५९२ डलर खर्च गरेको देखिन्छ । त्यस्तै दोस्रोमा कांग्रेसका सुनिलकुमार शर्मा र तेस्रोमा पनि कांग्रेसकै नैनसिहं महर रहेका छन् । शर्मा र महरले क्रमशः ३२९ र २५५ डलर खर्च गरेको देखिन्छ ।
उम्मेदवार नै नभए पनि गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य वीरेन्द्रबहादुर बस्नेतले भने ६३० डलर अर्थात् ९२ हजार ६ सय १० नेपाली रुपैयाँ खर्च गरेका छन् । बस्नेतले गतिशील लोकतान्त्रिक पार्टीका एजेन्डाहरू सम्प्रेषण हुने प्रकृतिका प्रचार सामग्री फेसबुकमार्फत बुस्ट गरेका छन् ।
यीबाहेक अन्य उम्मेदवारहरूले भने फेसबुक बुस्टिङमा औसत एक सय डलर आसपास खर्च गरिरहेको देखिन्छ ।
रोचक त के छ भने यो नेपालबाट भएको खर्च मात्र हो । नेपालबाहिरबाट पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आईटी कम्पनी तथा एजेन्सीहरूमार्फत फेसबुक बुस्टिङ गरिरहेका छन् । जसको खर्चको दायरा निकै ठूलो छ ।
लक्षित भूभागमा लक्षित उमेर समूह तथा लिंगसम्म आफ्ना प्रचार सामग्री सजिलै देखाएर मतदातालाई प्रभाव पार्न सकिने भएकाले धेरै उम्मेदवारको रुझान डिजिटल क्याम्पेनतर्फ देखिन्छ । जुन प्रवृत्ति यसअघिकै निर्वाचनमा पनि व्यापक देखिएको थियो ।
इन्फ्लुएन्स इन्डस्ट्री प्रोजेक्टले मेटाको एड्स लाइब्रेरीमा आधारित रहेर गरेको विश्लेषणमा २०७९ को आम निर्वाचनमा उम्मेदवारहरूले फेसबुक र इन्स्टाग्राममा राजनीतिक विज्ञापनका लागि करिब १ लाख ४८ हजार ५ सय अमेरिकी डलर खर्च गरेको उल्लेख छ । आजको विनिमय दरलाई आधार मान्ने हो भने यो भनेको करिब २ करोड १८ लाखभन्दा बढी हो ।
निर्वाचन आयोगले यस्ता विज्ञापनलाई चुनावी खर्चमा समावेश गर्ने रणनीति पनि तयार पारेको छ। चुनावी खर्चबारे आयोगको आफ्नै सीमा पनि छ। यस्ता खर्चको नियमन भइरहेको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताउनुहुन्छ ।
तर सामाजिक सञ्जालबाट गरिने चुनावी प्रचारमा देखिने अर्थात् फेसबुक बुस्टिङमा गरिने खर्चभन्दा त्यसका लागि कन्टेन्ट जेनेरेट गर्न हुने खर्च ठूलो छ ।
उम्मेदवारहरूले टिम नै बनाएर कन्टेन्ट जेनेरेसनको काम गरिरहेका छन् । यस्ता टिमले ग्राफिक्स कन्टेन्टदेखि भिडियो सामग्रीसम्म बनाउँछन् ।
कतिपय उम्मेदवारले त डिजिटल मार्केटिङ एजेन्सीहरूसँग चुनावी प्याकेज नै किनेका पनि छन् । यस्तो प्याकेजमा कन्टेन्ट निर्माण, न्यारेसन डेभलपमेन्ट र एआई च्याटबटको खोज नतिजामा आफूलाई प्राथमिकतामा पार्ने गरी प्रम्प्ट इन्जिनियरिङ गर्नेसमेत समावेश हुने गरेको छ ।
यस्ता प्याकेजको खर्च सुविधाअनुसार ३ लाखदेखि २५ लाखसम्म रहेको उम्मेदवारका प्रचारप्रसारमा संलग्न एक डिजिटल मार्केटिङ एजेन्सीका आईटी इन्जिनियर बताउनुहुन्छ । अहिले यस्ता प्याकेज उपलब्ध गराउन सयौं संस्था सक्रिय छन् । दर्ता नभएका संस्थाहरुले पनि टिम बनाएर काम गरिरहेका छन् ।