तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

माघ ७, २०८२ |रासस
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । 

मङ्गलबारको तुलनामा बुधबार एक तोला सुन रू १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रू दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रू पाँच हजार ९२० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रू दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रू पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रू दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रू पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रू दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रू पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।