
काठमाडौं । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ ।
सरकारले कोरोला, किमाथाकासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य थालेको हो । तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरूमा संरचना तयार गरेर भन्सार बिन्दुहरू विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनु भयो ।
उत्तरी नाका रसुवा र तातोपानी नाकाहरू अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अवरूद्ध हुँदा बर्खायाममा उक्त नाका सञ्चालनमा आउन सकेको थिएन । वैकल्पिक रूपमा कोरोला नाकालाई सञ्चालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरू थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।
त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरू ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरूले भित्राएका थिए । सोही नाका हुँदै २ हजार भन्दा बढी ईभी गाडीहरुू जाँचपास गरेर व्यवसायीहरूले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।
दशैँलक्षित समानहरू ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरू बनाएर सञ्चालनमा ल्याउन लागिएको हो । तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरू बनाएर पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताउनु भयो ।
उहाँका अनुसार उत्तरी नाका सञ्चालन गर्न भूगालले अप्ठ्यारो केही पारिरहे पनि पूर्वाधार निर्माणका काम चलिरहेको छ । महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरू वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ । तातोपानी पनि सञ्चालनमा आइरहेको छ । ओलाङचुङगोल, किमाथांका लगायतका नाकाहरू खुलाउने प्रयास भइरहेको छ ।
चीनतर्फ सडक पूर्वाधारहरू बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले यी नाकामा नायब सुब्बा सरहका कर्मचारीहरू खटाएर केही सहजीकरण भइरहेको छ । जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।