सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

माघ ४, २०८२ |रासस
सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं । विवाहको याम सुरू भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रू दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रू पाँच हजार ६२५ निर्धारण भएको छ ।

गत बिहीबार छापावाल सुन प्रतितोला रू दुई लाख ७६ हजार ५०० र शुक्रबार रू दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो भने बिहीबार एक तोला चाँदी पाँच हजार ४८५ र शुक्रबार पाँच हजार ६४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाब, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।