एकदर्जन बैंकहरूले घटाए ब्याजदर, कुनले कति ब्याज दिन्छन् ?

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एकदर्जन बैंकहरूले घटाए ब्याजदर, कुनले कति ब्याज दिन्छन् ?

काठमाडौं । एकदर्जन बैंकहरूले माघका लागि ब्याजदर घटाएका छन् । 

अधिक तरलता चुलिएका कारण बैंकहरूले मुद्दति निक्षेपतर्फको ब्याजदर घटाएका हुन् । पुस तुलनामा माघ महिना व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर ०.१४ प्रतिशत विन्दु घटेको छ । 

पुस महिनामा यस्तो औसत ब्याजदर ४.८ प्रतिशत विन्दु थियो । माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यिमध्ये सबैभन्दा बढी ब्याजदर घटाउनेमा हिमालयन र माछापुच्छ्रे बैंक रहेको छ । माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ४ दशमलव ४० प्रतिशत, एभरेष्ट बैंकले ४ दशमलव ४० प्रतिशत, कुमारी बैंक ४ दशमलव ४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४ दशमलव ४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४ दशमलव ५० प्रतिशत, प्रभु बैंकले ४ दशमलव ५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ दशमलव ५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४ दशमलव ५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै आगामी महिना माघमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ५ दशमलव १० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५ दशमलव ५० प्रतिशत, नबिल बैंकले ४ दशमलव ५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४ दशमलव ५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एसिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।

यता प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४ दशमलव ४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४ दशमलव २५ प्रतिशत ब्याज दिएको थियो । माघ महिनाका लागि ४ बैंकहरूले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकहरूले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई नै कायमै राखेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.