जुम्लामा स्याउको बगैंचा व्यवस्थापनमा जुटे किसान

सहजीकरणका लागि कृषि प्राविधिकहरू बगैंचामै खटिए
पुस २८, २०८२ |डीबी बुढा
जुम्लामा स्याउको बगैंचा व्यवस्थापनमा जुटे किसान

जुम्ला । जुम्लामा यो समयमा स्याउ बगैंचा व्यवस्थापनको काम धमाधम चलिरहेको छ । 

किसानहरू बगैंचामा पुगेर बिरूवा काँटछाँट गर्नेदेखि चुना, निलोथुतो लगाउँदै मलखाद व्यवस्थापनमा व्यस्त छन् । कृषि प्राविधिकहरू पनि बगैंचामै भेटिने गरेका छन् । यो जुम्ला चन्दननाथ नगरपालिका-९ स्थित बयालकाटिया गाउँमा रहेको सामूहिक स्याउ बगैंचा हो । 

यहाँ खेती सामुहिकरूपमा भए पनि स्याउ बेचेर हुने आम्दानी भने किसानहरूले व्यक्तिगतरूपमा लिने गरेका छन् । यो बगैंचामा धमाधम स्याउको बोट काँटछाँट चलिरहेको छ । महिलाहरू आफै बगैंचा व्यवस्थापन खटिएका छन् । कृषि प्राविधिकहरू बगैंचा व्यवस्थापनबारे सिकाइरहेका छन् । पछिल्लो समयमा प्रमुख आम्दानीको स्रोत नै स्याउ बनेकोले किसानहरूले अधिकांश समय स्याउखेतीमै दिइरहेका छन् ।

मंसिरदेखि नै सुरू भएको बगैंचा व्यवस्थापनको काम फागुनसम्म चल्नेछ । बगैंचा रेखदेख, सिंचाइ व्यवस्थापन गर्नेदेखि किसानहरू गुणस्तरीय स्याउ उत्पादन कसरी गर्ने भन्ने विषयमा चासो दिइरहेका छन् । गाउँमा किसानहरू भेला गर्ने, बगैंचा व्यवस्थापनको सीप दिनेदेखि बगैंचाको अवस्था अध्ययन गर्ने र किसानका अनुभवहरू सुन्दै बगैंचामा देखिएका समस्या समाधान गर्न कृषि प्राविधिकहरू बस्तीमै पुग्नेगरेका छन् । 

कृषि विकास कार्यालयका अनुसार जुम्लाका ६० वडामध्ये ३० वटामा स्थानीय कृषि शाखासँग समन्वय गरेर प्रत्यक्ष सीप हस्तान्तरण गर्ने योजना छ । जिल्लामै स्याउ काँटछाँट तालिम चलाएर १३ जना कृषि प्राविधिकलाई 'प्रशिक्षकका प्रशिक्षक' तयार पारिएको छ । यसले दिर्घकालीनरूपमा बगैंचा व्यवस्थापनमा सहयोग मिल्ने देखिएको छ ।

पछिल्लो समय जिल्लाबाहिर स्याउ धेरै बिक्री हुने र गाडी लिएर बगैंचामै व्यापारीहरू पुग्न थाले पनि किसानहरू बगैंचाको संरक्षणमा लागेका हुन् । अब राम्रो बगैंचा निर्माणसागै गुणस्तरीय स्याउ उत्पादन उनीहरूको लक्ष्य छ । जुम्लामा स्याउ खेतीको क्षेत्रफल विस्तार, बजारीकरण सहज हुनथालेको छ तर स्वस्थ बिरूवा उत्पादन गर्नु मुख्य चुनौती छ ।

कृषि विकास कार्यालय र दातृ निकायहरूले किसानलाई आरा, सिकेचर, बाडो पेस्ट लगाउने ब्रस, चुना, निलोथुतो दिने गरेका छन् । जुम्लामा ४ हजार ४ सय ४५ हेक्टरमा स्याउ खेती विस्तार भएको छ । २ हजार १ सय २५ हेक्टरमा रोपिएको स्याउ फल्न थालिसकेको छ । 

जिल्लाका १९ हजार १५० घरमा स्याउको बगैंचा छ । कृषि प्राविधिकहरू बगैंचामै पुगेर व्यवस्थापनको व्यावहारिक अभ्यास दिइरहँदा निकै उत्साहित छन् । स्याउमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नहुने भएकोले जुम्लाको स्याउ अर्गानिक उत्पादन हो ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।