तरकारी खेतीबाट आत्मनिर्भर बन्दै रामेछापका महिला

जलवायु परिवर्तन र श्रमिक अभावको भने चुनौती
पुस २३, २०८२ |नवराज श्रेष्ठ
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै रामेछापका महिला

रामेछाप । रामेछापका धेरै गाउँमा खेतबारी बाँझिँदै गएका छन्। 

वैदेशिक रोजगारीमा जानेहरू बढ्दा उत्पन्न श्रमिक अभाव, जलवायु परिवर्तनको प्रभाव र बजारको अनिश्चितताका कारण कृषि पेसाबाट मानिसहरू टाढिँदै गएका बेला, केही महिलाले भने गाउँमै बसेर कृषिलाई आत्मनिर्भरताको आधार बनाएका छन् । आधुनिक प्रविधि र मिहिनेतको बलमा उनीहरूले गाउँमै कृषिमा सम्भावना खोजिरहेका हुन् ।

मन्थली नगरपालिका-१३ चुहानटारकी पम्फा खपाङ्गीका लागि तरकारी खेती जीविकोपार्जन मात्र होइन, आत्मनिर्भरताको आधार बनेको छ । एकल जीवन, सीमित स्रोतसाधन र चुनौतीका बाबजुद उहाँले गाउँ नछाड्ने निर्णय गर्दै व्यावसायिक तरकारी खेती सुरू गर्नुभयो । 

हाल खपाङ्गीले ७ वटा टनेलमा सिमी, काउली, गोलभेडा र अदुवा खेती गरिरहनुभएको छ । खपाङ्गीले तरकारी बिक्रीबाट वार्षिक करिब दुई लाख र बाख्रापालनबाट एक लाख रूपैयाँ आम्दानी गर्दै आउनुभएको छ । मन्थली नगरपालिका-१ कि यमुना माझीको पनि तरकारी खेती परिवारको मुख्य आम्दानीको स्रोत हो । 

काउली, आलु र साग बिक्री गरेर उहाँले छोरा-छोरीको पालनपोषण र शिक्षादीक्षा धानिरहनुभएको छ । घर नजिकै हरेक सोमबार हाट लाग्छ । त्यहीँ हाटमा तरकारी सजिलै बिक्री हुन्छ । मन्थली नगरपालिका-२ कठजोरकी जानुका काफ्ले पछिल्लो तीन वर्षदेखि टनेल प्रविधिमार्फत व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । 

८ वटा टनेलमा गोलभेडा, बोडी र सिमी खेती गरेर यस वर्ष उहाँले हालसम्म तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसक्नुभको छ । बिक्रीमा समस्या नभएकाले अब खेती अझै विस्तार गर्ने उहाँको योजना छ । गाउँमा मानिस घट्दै गएका छन् । जसका कारण धेरै खेतबारी बाँझिएका छन् । तर बाँझिँदै गएको जमिन, घट्दो जनसंख्या र श्रम अभावका बीच पनि मन्थलीका केही महिलाहरूले कृषिमा सम्भावना खोजिरहेका छन् । 

मन्थली नगरपालिकाले यस्ता महिलाहरूलाई सहयोग गर्ने योजना बनाएको छ । मन्थलीका यी महिलाले गाउँमै सम्भावना छ भन्ने सन्देश दिइरहेका छन् । उनीहरू आधुनिक प्रविधि, निरन्तर मिहिनेत र स्थानीय बजारको सदुपयोग गर्दै गाउँमै स्वरोजगार सम्भव हुने उदाहरण पनि बनेका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।