डडेल्धुरा । गहुँ खेतीमा पुस्तौं बिताएका डडेल्धुराका किसान अचेल आलु उत्पादनमा लागेका छन् ।
परशुराम नगरपालिका क्षेत्रका किसानले गहुँ खेती छोडेर हिउँदे सिजनमा आलु खेती गर्न थालेका हुन् । गहुँभन्दा आलुमा दोब्बर आम्दानी हुने भएपछि किसानको आकर्षण बढेको हो । पुस्तौंदेखि गहुँ उत्पादनमा लागेकी परशुराम नगरपालिका-५ परिगाउँकी लक्ष्मी खड्काले गहुँ छोडेर तिन वर्षअघिदेखि आलु रोप्न थाल्नुभएको हो ।
आलु खेती गर्नथालेपछि उहाँ १० रोपनीमा भएको उत्पादनले वार्षिक ३ लाखसम्म आम्दानी गर्नुहुन्छ । गहुँ खेतीमा कम आम्दानी हुने भएपछि परशुराम नगरपालिका किसानहरू पछिल्लोसमय आलु खेतीमा लाग्न थालेका छन् । एकै किसानले १० देखि ३० रोपनीमा आलुखेती गर्छन् ।
गहुँ उत्पादनका लागि जिल्लामै उत्कृष्ट मानिएका गाउँमा समेत हाल समूह बनाएर किसानहरूले आलु खेती गर्न थालेका छन् । परशुराम नगरपालिका १, २, ४, ५ र ६ वडामा सामूहिक आलु उत्पादन गर्न थालिएको छ । गहुँभन्दा आलुमा दोब्बर आम्दानी हुने किसान बताउँछन् ।
किसानले बीउ र खाने आलुका रूपमा ग्रेडिङ्ग गरेर आलु बेच्ने गरेका छन् । सिजनमा खाने आलुको मूल्य ३० देखि ४५ रूपैयाँ हुन्छ भने बीउ आलुको ६० देखि ७५ रूपैयाँ हुने गर्दछ । एक किसानले आलु खेतीबाट वार्षिक २ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको आलु सुपर जोनले उनन्त बीउ, विषादी, यान्त्रीकरणसहित प्राविधिक सेवा दिन थालेपछि किसानलाई आलु खेती गर्न सहज भएको छ । परशुराम क्षेत्रमा एक क्विन्टल बीउबाट १० देखि १२ क्विन्टल आलु उत्पादन हुन्छ ।
व्यवसायिकरूपमा आलु उत्पादनमा लाग्ने किसानलाई बीउ, विषादीमा स्थानीय तहले ५० प्रतिशतभन्दा बढी सहयोग गर्ने गरेको छ । परशुराम नगरपालिका क्षेत्रमा उत्पादित आलुलाई प्रमाणीकरण गरेर बीउ आलुका रूपमा बेच्ने काम सुरु गरिएको छ । यहाँ बर्खे र हिउँदे गरी दुई सिजनमा आलु उत्पादन हुँदै आएको छ । परशुराम क्षेत्रमा मुख्यत हिउँदे आलु उत्पादन हुन्छ । डडेल्धुरामा हाल ११ सय २२ हेक्टर क्षेत्रमा आलुखेती भइरहेको छ ।