
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रूपैयाँबराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६ सय २२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा २०८१/०८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ ।
त्यस अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रूपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रूपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १ सय २९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४ सय ८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रूपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।