सानो-सिरूवारीका किसानको नयाँ पहिचान : जंगली बँदेलपालनबाट लाखौँ आम्दानी र रोजगारी

पुस ११, २०८२ |कमला पाख्रिन
सानो-सिरूवारीका किसानको नयाँ पहिचान : जंगली बँदेलपालनबाट लाखौँ आम्दानी र रोजगारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सानो-सिरूवारीका किसानले जंगली बँदेललाई व्यवसायिकरूपमा पाल्न सुरू गरेका छन् । 

बढ्दो बजार माग र मासुको उच्च मूल्यका कारण आयआर्जनको वैकल्पिक स्रोतका रूपमा दश करोड रूपैयाँकाे लागतमा बँदेल पालन गरी किसानहरूले आम्दानी पनि लिन थालेका छन् । सानो-सिरूवारीका चन्द्रलाल श्रेष्ठले एक सय तीन रोपनी जग्गामा सुरक्षित खोर निर्माण गरी दाना, मकै, कन्दमूल र स्थानीय स्रोतको प्रयोग गरेर बँदेल हुर्काइरहनुभएको छ । 

बँदेलको तौल छिटो बढ्ने, रोग पनि हत्त-पति नलाग्ने र बजारमा मासुको मूल्य उच्च हुने भएकाले कम समयमै लगानी उठ्ने उहाँको अनुभव छ । अहिले चिसोको मौसम भएकाले बँदेलको मासुको माग होटल, रेस्टुरेन्टमा बढ्दो छ । यही कारण बँदेलपालनबाट आम्दानी लिन पाउँदा उहाँ उत्साहित देखिनुहुन्छ ।

रसुवाको लाङटाङ मल्टिपल एग्रिकल्चर प्रालिबाट दुई तीन जना किसानले वर्षअघि १४ वटा बँदेल ल्याएर सुरू गरेको व्यवसाय अहिले डेढ सयभन्दा बढीमा पुगेको छ । फार्ममा रैथाने कुखुरा, कालिज, बँगुर, खसीबोका, राँगा तथा तरकारी खेतीसमेत भइरहेको छ । 

बँदेलको मासु बजारमा प्रतिकेजी १३ सय रूपैयाँमा बिक्री हुँदै आएको छ । दुई वर्षमै करिब ९० लाख रूपैयाँ मुनाफा कमाइ सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ । यो फार्म उद्योग तथा वाणिज्य कार्यालय र चौतारा नगरपालिकामा दर्ता भई सञ्चालनमा छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा भने अनुमति लिने प्रक्रियामै छ ।

यति ठूलो लगानी हुँदाहुँदै पनि हालसम्म कुनै सरकारी वा अन्य निकायबाट अनुदान नपाएपछि उनीहरूको लगानी सुरक्षित गराउन उद्योग तथा वाणिज्य कार्यालयका प्रतिनिधि आफैं फार्ममा पुगेर अनुगमनमा जुटेका छन् । यसैबीच स्थानीय तहका जनप्रतिनिधिले किसानले पाउने अनुदानदेखि विभिन्न सामग्री सहयोगको विषय कार्यपालिकामा उठाएर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी सम्मानजनक पेसाका रूपमा स्थापित गर्न नसक्दा धेरै किसानले कृषि पेसा छाडिरहेका बेला, ठूलो लगानीमा आधुनिक कृषि फर्म सञ्चालनमा आउनु अन्य किसानका लागि पनि नयाँ आशा र हौसला बनेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।