
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरू भए पनि विदेश बस्नेहरूले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ ।
नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भए पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनु भयो ।
नेपाल बाहिर बस्नेहरूले सामाजिक सञ्जालमा नकरात्मक भावना फैलाएको उहाँको भनाइ छ । उहाँले नकरात्मकतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरू सञ्चालन गर्न सकिने बताउनु भयो ।
महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अर्ब रुपैयाँ बराबरको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिनुभयो । कम्पनीले इनोभेट तथा नयाँ स्टार्टअपहरूमा लगानी गर्ने उहाँले बताउनु भयो । अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताउनु भयो ।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधबार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो ।
कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।