
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृतिलगायतका कागजातहरू लिने कामका ठगीलगायतका विभिन्न खालका झमेला व्यहोर्नुपरिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नुपर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीको विदेशिन बाध्य हुनु परेको समेत स्पष्ट पार्नुभयो । उहाँले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरूले दलालहरूको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराउनु भयो ।
मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताउनु भयो । त्यस अवसरमा उहाँले युवाहरूलाई देशभित्र श्रम गरेर केही गर्ने संकल्प गर्न पनि आग्रह गर्नुभयो । नेपाली युवाहरूमा माग बढी तर काम नगर्ने प्रवृत्ति समस्याको रूपमा रहेको उहाँको भनाइ थियो ।