सय दिने उपलब्धि सार्वजनिक गर्दै कुलमानले भन्नुभयाे- सुशासनको विषयमा ‘कम्प्राेमाइज’ गरेका छैनौँ

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सय दिने उपलब्धि सार्वजनिक गर्दै कुलमानले भन्नुभयाे- सुशासनको विषयमा ‘कम्प्राेमाइज’ गरेका छैनौँ

काठमाडौं । उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै ‘कम्प्राेमाइज’ नगरेको बताउनुभएको छ । 

एक सय दिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शीतालाई कठोरतापूर्व लागू गरिएको बताउनु भयो । उहाँले सम्पत्ति विवरण सबै मन्त्रीले समयमै बुझाइसकेको समेत बताउनुभएको छ । घिसिङकाअनुसार सबै मन्त्रीले साढे दुई महीनामै विवरण बुझाएकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।

मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पार्नुभएको छ । उहाँकाअनुसार आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैछ । मन्त्री घिसिङले परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताउनु भयो ।

मन्त्री घिसिङले सय दिने उपलब्धिभित्र बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको, तातोपानी-कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको र मनसुनले क्षति पुर्‍याएको बीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याइ जनजीवन सहज बनाएको लगायत कामहरू समावेश गर्नुभएको छ ।

घिसिङकाअनुसार सय दिनमा गरिएका कार्यहरूमा बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरिएको छ । त्यस्तै अपर अरूण जलविद्युत आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बंगलादेशमा १९ अर्ब रूपैयाँ बराबर विद्युत् निर्यात भएको उपलब्धि सूचीमा समावेश गरिएको छ । 

भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । त्यस्तै ४० रूग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । बीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि उपलब्धिको सूचीमा मन्त्री घिसिङले राख्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.