शाक्यवंशीय महारानी महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल विकास

धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य
पुस ९, २०८२ |मनोज पौडेल
शाक्यवंशीय महारानी महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल विकास

पश्चिम नवलपरासी । नेपाल र भारतका पर्यटन उद्यमीले शाक्यवंशीय महारानी महाप्रजापति गौतमी ग्रेट रिना-उन्सेसन ट्रेल विकास गरेका छन् । 

यो ट्रेललाई नयाँ पर्यटन प्रडक्टको रूपमा विकास गरी शान्ति र अध्यात्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ सुरू गरिएको पदमार्गमा महाप्रजापति गौतमी हिँडेको बाटोको पाइला पछ्याउँदै भिक्षुणीहरू हिँडेका छन् । त्यो पनि एक दुई जना नभएर १३ देशका एक सय जना भिक्षुणीले महाप्रजापति गौतमी हिँडेको बाटो पच्छ्याएर शान्ति पर्यटनको नयाँ आयाम सुरू गरेका हुन् ।

पश्चिम नवलपरासीको अनोमाघाट सुस्तामा भिक्षुणीको एउटा समूह नारायणी नदी तर्दैछन् । तराईको कठयाङ्गि्रदो चिसोमा उनीहरू सयर गर्न डुङ्गा चढेका हैनन् । यो त आजभन्दा करिब २ हजार ६ सय १७ वर्षअघि शाक्यवंशीय महारानी महाप्रजापति गौतमी हिँडेको पाइला पछ्याउँदै अनोमा घाट तर्दै गरेको दृष्यको पुनरावृत्ति हो । 

महारानी प्रजापति गौतमीले तिलौराकोट राजप्रासादबाट भारतको वैशाली पुगेको प्राचीन पदमार्ग पछ्याउँदै भिक्षुणीहरू हिँडेका हुन् । महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल नाम दिएर १३ देशका भिक्षुणीहरूले बाटो, खेत, खलो, नदी खोला तर्दै यात्रा गरे ।

राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा भिक्षुणीहरूको समूहबाट पूजाआजा भयो । तिलौराकोटमै २४ महिला १० दिनका लागि प्रबज्जया -भिक्षुणी बनेर यात्रामा सहभागी भए । त्यसपछि बिहीबार बिहान झिसमिसेमै कुहिरोकै बीचमा तिलौराकोटस्थित पूर्वीद्वारबाट यात्रा थालियो । 

तिलौराकोट, निग्रोधाराम हुँदै लुम्बिनी, रामग्राम र अनोमाघाट पुगेको थियो । त्यसपछि टोली सुनौली फर्किएर शनिबार भारत प्रवेश गर्‍यो । भारतमा बाल्मीकीनगर, नन्दनगढ, लौरिया अरेराज, केसरिया हुँदै यात्रा वैशाली पुगेर ३ सय किलोमिटरको यात्रा पुष ९ गते सकिएकोछ ।

यात्रामा नेपाल, भारत, थाइल्यान्ड, अमेरिका, क्यानाडा, भियतनाम, कम्बोडिया, श्रीलंका, सिंगापुर र अष्ट्रेलियालगायतका १३ मुलुकका भिक्षुणी सहभागी थिए । भिक्षुणीहरू दैनिक ५/७ किमी हिँडने र त्यसपछि बसमा यात्रा गर्दै यात्रा पूरा गरेका हुन् । यात्रामा २५ वषैदेखि ६८ वर्षसम्मका नेपाल र भारतका ६५ भिक्षुणी र विदेशका ३५ भिक्षुणी सहभागी थिए ।

यो ट्रेलकाबारेमा एक दशकदेखि अध्ययन अनुसन्धान गरेर भारतीय अध्येता दिपक आनन्दले बाहिर ल्याउनुभएको हो । यो पदमार्गले दुई देशको सम्पदा जोडिएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।